कृषि

पिपिआर खोप अभियान

बागमती प्रदेशमा आजबाट १२ लाख ६९ हजार भेडाबाख्रालाई खोप लगाइने

इकागज |
फागुन १, २०७९ सोमबार ७:३२ बजे

मकवानपुर - बागमती प्रदेशमा आजबाट पिपिआर खोप अभियान सुरू हुने भएको छ । आजदेखि ७ गतेसम्म प्रदेशको मन्त्रालय, निर्देशनालय र मातहतका कार्यालयले भेडाबाख्राहरूमा पिपिआर खोप लगाउन लागेको हो । 

आव ७७/७८ को तथ्यांकअनुसार बागमती प्रदेशमा भेडाबाट ३४४ मेटिक टन र बाख्रा १३ हजार २ सय ६८ मेटिक टन मासु उत्पादन हुँदै आएको छ । 


अभियानको क्रममा २० भन्दा बढी भेडा बाख्रा भएको र खोप केन्द्रमा ल्याउन नसक्ने अवस्था भएमा सम्बन्धित खोरमै पुगेर सेवा प्रदान गरिने पशु चिकित्सक निशान्त शर्माले बताए । 

अभियानको क्रममा खोपको लागि ४२५ खोप कर्ता परिचालन गर्ने तयारी भएको उनले बताए । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी मन्त्रालयले प्रदेश भित्रका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउने भएको हो ।

पीपीआर भेडा बाख्रामा विषाणुबाट लाग्ने घातक संक्रामक रोग हो । पीपीआर संक्रमणको कारण वर्षेनि हजारौ भेडाबाख्रा मर्ने गरेको कारण किसानले ठुलो क्षति बेहोर्नु पर्ने समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले प्रदेशमा रहेका भेडाबाख्रालाई पीपीआर खोप लगाउने कार्यक्रम सुरु गरेको मन्त्रालयले जानकारी दिएको छ ।

पीपीआर नियन्त्रणका लागि फागुन १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ । प्रदेशभर कुल २६ लाख १३ हजार २३२ भेडाबाख्रा रहेकामा ४९ प्रतिशत भेडाबाख्रालाई मात्र पीपीआर खोप लगाउन लागिएको हो ।

संघिय सशर्त मार्फत प्राप्त भएको खोपबाट प्रदेशभरका जम्मा ४९ प्रतिशत भेडाबाख्रामा खोप पुग्ने भएपनि यहि पेशामा रहेका किसानहरुलाई ठुलो आर्थिक क्षति हुनबाट रोकिने मन्त्रालयका निमित्त सचिब झलकनाथ कँडेलले बताए । नयाँ ठाउँमा यो रोग फैलदा ८० प्रतिशत संक्रमित जनावरको मृत्यु हुन्छ । देशभर सबै जिल्लामा फैलिसकेको कारण प्रदेशभरका किसानको ठुलो क्षति हुनबाट रोकिने कँडेलले बताए ।

विषाणुबाट फैलने रोग भएको कारण पीपीआरको सघन उपचार नभएको हुँदा सामुहिक खोप अभियान सञ्चालन गरिएको मन्त्रालय बताउँछ । विश्व पशु स्वास्थ्य सँगठन र संयुक्त राष्ट्र खाद्य तथा कृषि सँगठनले सन् २०३० सम्म पिपिआर उन्मुलन गर्ने रणनीति अधि सारिसकेको परिप्रेक्षमा पशु स्वास्थ्य कार्यक्रम कार्यान्वयन कार्यविध, २०७५ को परिच्छेद ३ पिपिआर रोग नियन्त्रण कार्यक्रम कार्यान्वयनको माध्यमबाट यस रोगलाई प्रभावकारी तवरले नियन्त्रण गर्नको लागि स्पष्ट कार्य योजना बनाई पिपिआर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालय बताउछ ।

गत वर्ष मन्त्रालयले यहि अभियानअन्तर्गत ८ लाख ३० हजार १८७ भेडाबाख्रालाई पिपिआर खोप लगाएको थियो । प्रदेशमा हाल ९२ हजार ५ सय ६१ वटा भेडा र २५ लाख २० हजार ६ सय ७१ बाख्रा पालन भैरहेको छ ।


Author

थप समाचार
x