कृषि

बिमा रकम पाएपछि पशुपालक कृषक खुसी

इकागज |
जेठ २, २०८० मंगलबार ९:५४ बजे

फाइल तस्बिर

बनियानी- झापा कनकाई नगरपालिकाका पशुपालक कृषक पशु बिमावापतको रकम पाएपछि दङ्ग परेका छन् । पशु बिमा गराएका कृषकले पशुको मृत्यु भएपछि बिमावापतको रकम प्राप्त गरेका हुन् ।

कनकाई–८ का प्रेम कार्कीले रु १२ हजारको बाख्राको बिमा गरेकामा रु १० हजार आठ सय पाएको बताए । 'पशु बिमा नगरेको भए घाटा लाग्थ्यो होला, बिमा गरेकाले घाटा लागेन, बिमा रकम पाएकामा खुसी लागेको छ,' उनले भने, 'मैले सबै गाईबस्तुको बिमा गराएको छु ।'


त्यस्तै अर्का कृषक दीपककुमार पाण्डेले बाख्रापाठाको रु १३ हजारको बिमा गराएकामा बिमावापतको रकम पाएका छन् । उनले अन्य कृषकले पनि सरकारले ल्याएको पशु बिमा कार्यक्रममा सहभागी हुनुपर्नेमा जोड दिए । कनकाईमा कनकाई नगरपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र अभियान नेपालको सहजीकरणमा साझेदारीमा कृषि तथा पशुपालन उद्यमशीलता विकास परियोजनाअन्तर्गत पशु बिमा कार्यक्रम सञ्चालन भइरहेका छ ।

कार्की र पाण्डेजस्तै कनकाईका पशुपालक कृषकले रु छ हजार तीन सयदेखि रु एक लाख ३६ हजारसम्म पशु बिमावापतको रकम पाएका छन् । नगरपालिकाले बिमा गरेका ३७  पशुको कूल रु १० लाख ५७ हजार सात सय बिमा रकम कृषकलाई प्रदान गरिएको हेफर प्रोजेक्ट नेपालका कर्मचारी चन्दा सिटौलाले जानकारी दिइन् ।
 
कनकाई नगरपालिकाले सरकारले लागू गरेको पशु बिमाअन्तर्गतको पशु बिमा गर्न चाहने कृषकको बिमावापत ७५ प्रतिशत रकम व्यहोर्ने गरेको छ । सरकारले लागू गरेको पशु बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन र कृषकलाई पशु बिमा कार्यक्रममा सहभागी गराउन नगरपालिकाले बिमा रकममा समेत अनुदान दिइरहेको कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले बताए ।

'कृषकलाई पशुपालनमा प्रोत्साहन गर्न र केही भइहाले त्यसवापतको राहत दिन नगरपालिकाले सरकारको नीतिअनुरूप थप सहयोग गरिरहेको छ,' उनले भने, 'पशु बिमा कार्यक्रमबाट केही कृषकले लाभ लिइरहनुभएको छ, केहीले लिनुभएको छैन, सबै कृषकलाई पशु बिमा गराएर सुरक्षित र व्यावसायिक पशुपालन गर्न म आग्रहसमेत गर्दछु ।' रासस


Author

थप समाचार
x