बगर खेती गर्नेलाई शतप्रतिशत अनुदान
फाइल तस्बिर
काठमाडौं– कैलालीको कैलारी गाउँपालिकाले वर्षेनि बाढी र डुबानबाट प्रभावित हुदै आएका परिवारलाई लक्षित गरी बगर खेतीमा शतप्रतिशत अनुदान दिएको छ । जिल्लामै सबैभन्दा बढी बाढी र डुबानबाट प्रभावित हुँदै आएको गाउँपालिकाले प्रभावित परिवारको दैनिक जीविकोपार्जन सहज बनाउन बगर खेतीमा प्रोत्साहन गरेको हो ।
गत वर्षको बाढीबाट बिस्थापित १६ घर परिवारलाई टेन्टमा जंगलमा बसोवास गराउँदै आएको गाविसले खासगरी मोहनपुर, शिवरत्नपुर, हौसलपुर, बैसपुर लगायतका बाढी प्रभावितलाई बगर खेतीमा अनुदान दिएको हो । बगर खेती गर्ने प्रविधिका बारेमा गाउँपालिकाको विभिन्न सामाजिक संस्थासँग सहकार्य गरेर इच्छुक किसानहरुलाई खेती प्रणालीको प्रशिक्षण दिने गरिएको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताए ।
‘बाढी प्रभावितहरुको आर्थिक अवस्था राम्रो होस् भन्ने उद्देश्यले बगर खेतीका लागि प्रोत्साहन गरेका हौँ,’ उनले भने, ‘बाढी प्रभावित क्षेत्रहरुमा एकदमै गरिबी छ । आर्थिक अवस्था नाजुक छ ।’ स्थानीय सरकारको सिमित स्रोत, साधन हुने र आर्थिक अवस्थामा सहयोग पुगोस् भनेर अनुदानमा बगर खेती गर्न सघाएको उनले बताए।
यो गाउँपालिका जिल्लामै सबैभन्दा बढी बाढीप्रभावित क्षेत्र हो । गत वर्षको बाढीले वडा नम्बर ३ को शिवरत्नपुरमा १६ घर परिवारसहितको बस्ती नै बगाएको थियो । ‘उहाँहरुको एकधुर पनि जमिन छैन । मोहना जस्ता ठूलाठूला नदीका कारण बजेटको कमीले तटबन्ध निर्माण हुन सकेको छैन । पूरै एरिया नै तटबन्ध गर्नुपर्ने हुन्छ।’ उनले भने ।
गाउँपालिकाबाट अनुदान पाएपछि बाढी प्रभावित समुदाय बगर खेतीमा लागेका हुन् । उनीहरुलाई बालुवामा खेती गर्ने तरिका सिकाउनुको साथै बीउ, मल तथा कृषि विज्ञको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । अहिले मोहना, घुरा लगायतका नदी किनारमा बारेर किसानहरुले बगर खेती गरेको देख्न सकिन्छ । नदी किनारका अधिकांश स्थानहरु बगर खेतीका कारण हरियो देखिने गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया