मनसुन भित्रिएसँगै भक्तपुरका किसान रोपाइँमा व्यस्त
फाइल तस्बिर
काठमाडौं– असार सुुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभर किसानहरु राेपाइँमा व्यस्त हुन थालेका छन् ।
काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा धान राेपाइँमा यतिबेला किसानहरु व्यस्त हुन थालेका हुन् । भक्तपुरको निकोसेरामा पनि यतिबेला किसानहरु धान रोप्न व्यस्त छन् । उनीहरु जेठका अन्तिममै धान रोप्नका लागि पर्याप्त पानी परेकाले राेपाइँमा व्यस्त भएको बताउँछन् ।
सामान्यतया असार १५ बाट राेपाइँ सुुरु हुने भएपनि असारको पहिलो सातादेखि नै किसानहरु राेपाइँको चटारोमा छन् । विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै राेपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भएपनि यस वर्ष भने जेठ अन्तिमबाट मनसुन नेपाल भित्रिएसँगै वर्षा हुँदा भक्तपुरका अधिकांश स्थानमा राेपाइँ भइसकेको किसानहरु बताउँछन् ।
सिंचाई अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा राेपाइँ गर्नुपर्ने अवस्थामा यसवर्ष आकाशे पानीले नै असार सुुुरु हुनेबित्तिकै खेतमा पानी भरिएपछि किसान राेपाइँमा लागेका हुन् । आवश्यक पानी नपर्दा विगतमा असार १५ कुर्ने गरेका किसानहरु यस वर्ष धान राेपाइँ छिटो भएपछि खुशीमा भएका छन् ।
खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेको उनीहरुको भनाइ छ । राेपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानह डराएका छन् । धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउन सके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउन सक्ने उनीहरुको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया