कृषि

अवैधानिक गाँजा छाडेर वैधानिक कफीमा किसान

इकागज |
साउन ६, २०८० शनिबार १७:३९ बजे

मकवानपुर- अवैधानिक गाँजा खेती छाडेर मकवानपुर राक्सिराङका किसान वैधानिकता प्राप्त कफीमा लागेका छन् । परम्परागत रूपमै गाँजा खेती गर्दै आएका मकवानपुर राक्सिराङ वडा न. ९ का किसान उमेश चेपाङले अहिले आफ्नो बारीमा कफी लगाएका छन् । गाँजा छाडेर उनी कफी खेती तर्फ आकर्षित भएका हुन् ।

गाँजाको खेती गरेर बिरुवा रोपेदेखि फल लिएर बेच्दासम्म डरैडरमा बस्नुभन्दा ढुक्कले कफी खेती गर्ने सोच आएको उनी बताउँछन् । उनी मात्रै हैन यहाँका अन्य किसानहरू पनि अहिले कफी खेतीतिर लागिपरेका छन् ।


हरेक वर्ष बागमती प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिघौबिघा गाँजा नष्ट गर्ने गरेका छन् । गाँजा नष्टसँगै आफूलाई कारबाही हुने त्रास उस्तै हुन्थ्यो किसानलाई । लुकेर गरिने खेतीमा जोखिम बढी हुने भएकाले पनि उनी कफीतर्फ लागेका हुन् । 'हाम्रो जीविकोपार्जन चल्ने भए कुन दिन जेलमा पुगिने हो पत्तो नहुने, डरैडरमा किन गाँजा खेती गर्नु म त कफी खेती गर्न पाउँदा धेरै खुसी छु,' उनले भने ।

उनले जस्तै वडा नम्बर ६ का चन्द्रमान प्रजा, वडा ५ का वियोग लामाले पनि आफ्नो बारीमा कफी लगाएका छन् । आफूले लगाएको गाँजा फाँड्न प्रहरी आउँदा किसान गाउँ छाडेर भाग्थे, अहिले तिनै किसानले प्रहरीकै हातबाट कफीको बिरुवा रोपेर, सँगसँगै बिरुवा रोप्न लागिपरेका छन् । 'अब यसैलाई हुर्काउने हो, यसैबाट आम्दानी लिने हो,' लामाले भने, 'जे लगाए पनि हाम्रो जीविका चल्ने आय हुनुपर्यो ।'

मकवानपुर गाँजाका लागि पकेट क्षेत्र मानिन्छ । मकवानपुरको विशेषगरी राक्सिराङ गाउँपालिकामा गाँजा नै किसानको मुख्य आयस्रोत हो । जिल्लाको कैलाश, मनहरी गाउँपालिकामा पनि गाँजा खेती हुने गरेको छ । कानुनी रूपमा अवैध गाँजा उत्पादन छाडेर किसानलाई वैकल्पिक खेतीमा आकर्षित गर्ने अभियानमा प्रहरी र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै आइएको थियो । २०६५ सालताका मकवानपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीय किसानहरूले आफूहरू गाँजा छाड्न तयार रहेको तर, विकल्प सरकारले देखाउनु पर्ने माग गर्दै कृषि मन्त्रालय र गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए । तर, प्रशासन वा मन्त्रालयले यसबारे ध्यान दिएन ।

अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी कार्यालयलगायतको संयुक्त पहलमा गाँजाको विकल्प कफी खेतीको प्रवर्द्धन प्रयास गरिएको छ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा न. ५ स्थित ठाडेचुरेमा मास्के मल्टी प्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रा.लि. चितवनसँगको सहकार्यमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कफीको ४ हजार बिरुवा रोपिएको छ । अन्य १५ हजार बिरुवा गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीको उपस्थितिमा स्थानीय कृषकहरूलाई गाँजाको विकल्पमा कफीका बिरुवाहरू रोपिएको हो । यही सिजनमा रोप्ने गरी अरु ५ लाख वटा कफीका बिरुवाहरू हस्तान्तरण गर्ने तयारी भएको मास्के मल्टी प्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रा.लि. चितवनका प्रमुख धनबहादुर श्रेष्ठले बताए ।

कफी किसानको हितमा

बागमती प्रदेशका विभिन्न क्षेत्रमा गाँजा, अफिमजस्ता लागूऔषधको अवैध खेती भइरहेको डरलाग्दो अवस्थालाई मध्यनजर गर्दै प्रदेश प्रहरीले यसलाई नियन्त्रण गर्न कदम चालेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको भनाइ छ । लागूऔषध खेती हुने क्षेत्रका कृषकहरूलाई कानुनी र नगदे बालीतर्फ लाग्न उत्प्रेरित गर्न विशेष अभियान सुरु गरेको उनले बताए । लागूऔषधको अवैध खेती, विशेष गरी गाँजा र अफिम यस क्षेत्रका लागि जटिल बनिरहेकाले कफी खेती किसानको हितमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । प्रहरी चितवन जिल्लाको राप्ती नगरपालिका –१ मा पनि २० हजार बिरुवा वितरण गरेको छ ।

कफी खेतीले गैरकानुनी लागूऔषध खेतीको एक आकर्षक विकल्प प्रदान गर्दै वातावरण संरक्षण गर्दै किसानलाई दिगो जीविका उपलब्ध गराउन सक्ने प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बताए । उनका अनुसार अभियानले अवैध खेतीमा संलग्न किसानहरूको अभ्यासलाई वातावरणमैत्री र लाभदायीक उद्यममा रूपान्तरण गर्न प्रेरित गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरीले दिगो कृषि र वन वृक्षारोपणको दिशामा सक्रिय कदम चाल्दा अवैध लागूऔषध खेतीको छायाँ छोडेर आगामी पुस्ताका लागि उज्यालो भविष्य अँगालेर थप मेलमिलाप र वातावरणीय सचेत समाज निर्माण गर्ने लक्ष लिएको समेत उनले जानकारी दिए ।

गाँजा जस्तै कफी पनि नगदे बाली हो तर यो गाँजा जस्तै गैरकानुनी खेती हैन, नगदे बाली भएकोले उस्तै आयआर्जन गर्न सकिन्छ । यो क्षेत्रले हरियाली र दिगो भविष्यको विकास गर्दै लागूऔषध खेतीमा कमी ल्याउन सकिने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । राक्सिराङ क्षेत्रको माटो हावा पानी अनुसार पनि कफी खेतीको सम्भावना रहेको मल्लकाे भनाइ छ ।

कफी खेतीका क्रममा किसानलाई केही समस्या भएमा कृषि शाखा मार्फत सहजीकरण गर्न स्थानीय सरकार तयार रहेको राक्सिराङ गाउँपालिका वडा ६ का अध्यक्ष अकलबहादुर मोक्तानले बताए ।

नेपालको कानुनमा गाँजा र वैधताको बहस

गाँजालाई वैधता दिनु पर्ने बहसले बेला बेलामा संसददेखि सामाजिक सञ्जालसम्म तताउने गरेको छ । संघीय सरकारका पूर्व स्वास्थ्यमन्त्री हेटौंडामा नेता विरोध खतिवडाले आफ्नो कार्यकालमा गाँजालाई वैधता दिनुपर्ने सवाल संसदमा समेत पटक पटक उठाएका थिए । अघिल्लो कार्यकालमा मकवानपुरको निर्वाचन क्षत्र २ बाट संघीय सांसद विजयी भएको खतिवडाले राक्सिराङ, कैलाश, मनहरी क्षेत्रका किसानलाई आफूले संयीय सांसद जितेमा गाँजा खेतीलाई वैधता प्रदान गर्ने एजेण्डा नै उठाएका थिए, उनले जितेपछि संसदमा यो सवाल उठाए पनि तर कानुनले सहज बाटो दिएन ।

नेपालमा गाँजा खेती गैर कानुनी हो । नेपालले गाँजामा प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरेको छ । उक्त सन्धिमा गाँजालाई अफिम र हिरोइन जस्तै लागूऔषधको सूचीमा राखिएको छ । सार्क मुलुकहरूको व्यापार सम्झौताले पनि नेपालमा सजिलै गाँजाको प्रतिबन्ध हटाउन गाह्रो पर्न सक्छ । अहिले नेपालको कानुनअनुसार कसैको खल्तीमा ५० ग्राम गाँजा भेटियो भने पनि तीन महिना कैद र तीन हजारसम्म जरिवाना हुन सक्छ । त्यसैले अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुसार गाँजा प्रयोग, ओसारपसार तथा खेती सबै प्रतिबन्धित छ ।

हाल यस क्षेत्रबाट निर्वाचन जितेर सांसद भएका महेश बर्ताैलाले निर्वाचनको तयारीमा किसानहरूलाई गाँजाको विकल्प दिने एजेण्डा उठाएका थिए । 'कानुनी रूपमै प्रतिबन्धित गाँजालाई लुकेर खेती गर्दै युवाहरू जेल पुग्ने बिडम्बनाको विरुद्धमा मेरो संघर्ष हो,' बर्ताैलाले भने, 'सोझा किसानका युवा भाइबहिनीहरू गाँजाको कारण जेल पुगेका छन्, उनीहरूको परिवार तहसनहस भएको छ ।' अन्तर्राष्ट्रिय सन्धिले रोकेको खेतीको विकल्प खोज्ने र रोज्ने अधिकार किसानलाई भएको उनको भनाइ छ ।

हाल मकवानपुरको भिमफेदी कारागारमा रहेका कैदीबन्दीमध्ये ८५ प्रतिशत कैदीबन्दीहरू गाँजाकै कारण जेल परेको केही समय अघि एक गैरसरकारी संस्थाले गरेको अध्ययनबाट देखिएको थियो ।

कफीको बजार गाउँपालिकाको जिम्मा : अध्यक्ष मल्ल

गाँजा छाडेर कफी खेती गर्ने किसानको समृद्धिका लागि स्थानीय सरकारले पूर्ण साथ दिने भएको छ । कफी खेतीबाट उत्पादित कफी कहाँ बेच्ने कसरी बेच्ने भन्नेबारे अन्यौलताले किसानले कफी लगाउन सकेका थिएनन् । अब यसको जिम्मेवारी गाउँपालिकाले नै लिने भएको छ ।

उत्पादनको जिम्मेवारी मात्रै हैन गाउँपालिकाले कफी खेतीको बीमा समेत गरिदिने भएको छ । बीमाको प्रिमियम गाउँपालिकाले तिर्ने छ, उत्पादन नहुँदा क्षति बीमा संस्थानबाट किसानले पाउने छन् । गाउँपालिकाले कफीका लागि लाग्ने अन्य लागतका लागि कृषि ऋण समेत प्रदान गर्ने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । 'बजार व्यवस्थापन सबैभन्दा ठूलो चिन्ता थियो, अब हामीले त्यसको समन्वय गर्नेछौं,' मल्लले भने, 'हामी यहाँको खाली जग्गाको लगत लिँदैछौं, हामी बाँझो नराख्ने गरी अभियानकै रूपमा कफी लगाउने थालेका हौ ।'

राक्सिराङ गाउँपालिकाले खालि जग्गा नराख्न स्थानीयलाई प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकाले खेती खेतीका लागि विभिन्न सेवा सुविधा दिने भएपछि अहिले कफीको माग ह्वात्तै बढेको मल्लले बताए । 'कफी बाँड्ने भनेपछि निवेदन र फोनको ओइरो नै लागेको छ,' मल्लले भने, 'यहाँ  पौरखी किसानहरू छन्, विकल्प नभएर मात्रै गाँजा लगाएका हुन्, अहिले गाँजा छोडेर कफी रोज्नेको हानथाप छ ।'

आफूहरूको योजनालाई प्रदेश र जिल्ला प्रहरीले ऊर्जा दिएको उनले बताए । अभियानको क्रममा रोकिएका कफीको नियमित अनुगमन गर्नेछु, निगरानी गर्छौं, समूह र व्यक्तिलाई नै आवश्यक तालिम दिने काम पालिकाको कृषि शाखा मार्फत गरिने उनले बताए ।

'मैले वि.स २०५४ सालमा गाविस अध्यक्ष हुँदा नै विकल्प खोजेको हो, सडक र गाँजाको विकल्प भएमा यहाँको भिरालो जमिनमा गाँजा हैन कफी फल्ने छ, हामीले उही बेला भनेको थियौं, कि त गाँजालाई वैधानिकता कि त विकल्प चाहियो भनेर,' मल्लले भने ।


Author

थप समाचार
x