कृषि

'रासायनिक मलको अभाव कम गर्न जैविक विकल्प बनाउन माग

इकागज |
साउन १५, २०८० सोमबार २०:२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले रासायनिक मल खरिदका लागि पर्याप्त बजेट व्यवस्थापनको विषयमा सम्बन्धित मन्त्रालयले जवाफ दिनुपर्ने बताएका छन् ।​ सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै समितिको ज्येष्ठ सदस्य सभापतिसमेत रहेका उनले यस्तो बताएका हुन् ।

उनले रासायनिक मलको अभाव कम गर्न जैविक मलको वैकल्पिक उपायहरू ल्याउनुपर्ने जिकिर गरे । उनले जैविक मललाई रासायनिक मलको वैकल्पिक उपाय बनाउने विषयमा सरकारको भूमिकाको विषयमा समेत स्पष्ट हुनुपर्ने बताए ।


चौधरीले विनियोजित बजेट अनुसार खरिद प्रक्रिया अघि बढे/नबढेको, खरिद भएको मल ढुवानी भए/नभएको र गोदाममा पुगिसकेको मल वितरणको अवस्थाबारे सम्बन्धित निकायमार्फत जानकारी माग गरिने उल्लेख गरे । उनले रासायनिक मलमा अहिलेको बजार माग कति हो र त्यो कहाँबाट कसरी पूर्ति गर्ने हो भनेर अर्थ र कृषि मन्त्रालयलाई जवाफ माग गर्ने बताए ।

मल अभाव नहुने गरी वितरणको ‘रोडम्याप’ पनि मन्त्रालयहरूसँग माग गरिने उनकाे भनाइ छ । उनले स्थानीय तहले मल वितरण गर्दा किसानलाई समयमा पाउने आधार खडा पारेको प्रणालीको विषयमा समितिलाई जानकारी गराउनु पर्ने बताए ।

सांसद चौधरीले स्थानीय निकायहरूको मल वितरणमा समस्या भए कसरी सम्बोधन गर्ने विषयमा मन्त्रालयले सोच्नुपर्ने धारणा राखे । उनले किसानहरूले भन्सार नाकाबाट एक बोरा मल ल्याउन रोक लगाउने विषयले किसानहरूले समस्या भोग्नुपरेको बताए ।


Author

थप समाचार
x