अनुदानको मल बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही
फाइल फोटो
कास्की - कास्कीमा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्रीवितरण गरेका दुई संस्थालाई कारबाही गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा आज बसेको बैठकले अमरसिंह सुलभ कृषि सामग्री पसल र पोखराको शिवालय चोकस्थित उपभोक्ता सहकारी संघलाई रु २०/२० हजार जरिवाना गरेको हो ।
नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा आइतबार पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले अनुगमन गरेको थियो । अनुुगमनका क्रममा बढी मूल्यमा बिक्री गरेको पाइएपछि आज जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि बोलाइएको थियो । अमरसिंह सुलभ कृषि सामग्री पसलमा रहेको २५ बोरा युरिया, ६ बोरा डिएपी र पाँच बोरा पोटास जफत गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा फिर्ता गरिएको छ ।
त्यस्तै आफ्नो कार्यक्षेत्रबाहिर ठूूलो परिमाणमा मल बिक्री गर्ने उपभोक्ता सहकारी संघ लिमिटेड पोखरा–८ को अनुदानको मल बिक्रेता अनुमति खारेज गर्ने निर्णय भएको पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिका संयोजक पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार अनुगमन गर्दा अनुदानको मल तोकेको मूल्यभन्दा रु १५ बढीमा बिक्री गरेको फेला परेको थियो ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया