मकवानपुरगढीका रैथाने कृषि सामग्रीहरूको हाट बजार काठमाडौँमा
मकवानपुर- जिल्लाकाे मकवानपुरगढी गाउँपालिकामा उत्पादित रैथाने कृषि सामग्रीहरूको हाट बजार काठमाडौँमा लागेकाे छ । मकवानपुरगढीमा उत्पादन भएका रैथाने कृषि बाली तथा स्थानीय स्तरमा उत्पादन भएका बास, बेद, निगालो जस्ता सामग्रीहरूबाट बनेका हस्तकला सामग्रीहरूको शनिबार काठमाडौँको दरबारमार्गमा हाट बजार लागेको हो ।
प्रत्येक शनिबार ओरिएन्ट क्याफेमा लाग्ने हाटमा विशेषगरी भर्खरै मात्र बजारीकरण भएको कालीखोला कोदो पिठोले विशेष आकर्षण गरेकाे छ । मकवानपुरगढीमा उत्पादित स्थानीय एवम् रैथानेबालीहरू र बाँसबाट निर्मित डस्टविन, क्रेट, फाइल ट्रेलगायतका हस्तकला सामग्रीहरू समेतको प्रवर्द्धन गरिएको गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।
कृषि सामग्रीहरूको हाट मेलामा स्थानीय उत्पादनको प्रवर्द्धनसँगै किसानहरूलाई अझै बढी प्रेरित गर्ने लक्ष्यले आफू स्वयं उपस्थित भएको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले बताए ।
जिल्लामा विभिन्न समयमा लाग्ने सबै प्रकारका मेला महाेत्सवहरूमा स्थानीय रैथाने बालीकाे प्रदर्शनी गरेपछि अहिले किसानहरूकाे समेत आकर्षण बढेकाे छ । हेला गरेर लगाउनै छाडिएका काेदाे, फापरहरू अहिले खाेजी खाेजी लगाउन थालेका छन् किसानहरूले । गत असार १५ गते धान दिवसकाे दिनमा समेत किसानले आफ्ना उत्पादनकाे प्रदर्शनी गरेका थिए ।
युवा जनशक्तिकाे अभावमा खेत बारी बाँझाे राख्ने र ग्रामीण बस्ती छाडेर शहरमा बसाेबास गर्नेहरू बढेपछि स्थानीयहरूकाे अन्नबाली खाइदिएर जंगली जनावरले दु:ख दिन थालेका छन् ।
यद्यपि पाखाेबारीहरूमा रैथाने नगदे तथा अन्न लगाएर उब्जाउ गर्न सकेमा आम्दानी प्रशस्त हुने मकवानपुरगढी गाउँपालिका-३ फूलबारीकी गिता तामाङले बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया