कृषि

निषेधाज्ञामा दुधको उत्पादन बढ्यो, बजार बन्द हुँदा किसानलाई समस्या

इकागज |
जेठ ११, २०७८ मंगलबार ६:२३ बजे

फाइल फोटो

हेटौंडाः व्यवसायिक पशुपालन गरेका किसानहरुलाई दुध बिक्रि गर्ने चिन्ताले आजभोलि सताउन थालेको छ । जिल्लामा निषेधाज्ञा जारी रहँदा दुध बिक्रि केन्द्रहरु बन्द भएका छन् । बजारमा दुध बिक्रि गर्न लैजाने अवस्था छैन । सानो संख्यामा गाई–भैसी पाल्ने किसानहरुको दाजोमा व्यवसायिक फार्म सञ्चालन गरेको किसानहरुलाई अहिले दुध कसरी बिक्रि गर्ने भन्ने चिन्ता थपिएको छ ।  

‘दैनिक ७० लिटर दुध उत्पादन हुन्छ, दुई दिनमा एक दिन मात्रै सहकारीले दुध संकलन गर्छ’ मकवानपुरका किसान नरेन्द्र लम्साल भन्छन्, ‘एक महिनासम्म यस्तै रह्यो भने दुध प्याक्नुपर्ने अवस्था आउँछ ।’
  
किसानलाई एउटा मात्रै चिन्ता छैन । दुध उत्पादनदेखि त्यसको वितरण र व्यवस्थापनमा समस्या छ । पनिर बनाएर कति खानु ? बजार लगेर के गर्नु खरिदकर्ता नै छैनन् ? अहिले भन्दा एक महिनापछिको चिन्ता उनलाई झनै बढी छ । ३-४ वटा गाई ब्याउँदैछ, एक महिनामा ।  त्यसपछि दुध अझै बढ्छ । बिक्रि गर्ने अवस्था छैन । गाई ब्याएपछि दैनिक १ सय २० लिटरसम्म दुध उत्पादन हुन्छ । यस्तो समस्या उनको मात्रै होइन । उनीजस्तै व्यवसायिक रुपमा फार्म खोलेर दुध उत्पादन गर्दै आएका अन्य किसानहरुको पनि साझा समस्या हो । 


यता हेटौंडा–३ बसामाडीका किसान खिमप्रसाद तिमल्सिना हेटौंडा बजारसम्म दुध बेच्न ल्याउँछन् । उनले अहिलेसम्म एक डेरी र उद्योगलाई दुध बिक्रि गर्दै आएका छन् । केही गाउँतिरै बिक्रि गर्ने गरेका छन् । ५५ लिटर दुध बिक्रि गर्दै आएका तिमल्सिनाले गत वर्षको लकडाउनबाट आफ्नो व्यवसायिक फार्म सुरु गरेका थिए । ४ वटा गाई मात्र पालेका उनले अहिले १७ वटा गाई भैँसी पाल्छन् । मकवानपुरमा १३ गतेसम्म निषेधाज्ञा जारी छ । निषेधाज्ञा लम्बिने भयो भने दुध खरिद गर्न डेरीले नलिने जनाएको उनले बताए । बजारमा केही डेरीले छिटपुट रुपमा दुध बेच्दै आएका छन् ।    
   
जिल्ला दुग्ध सहकारी संघ मकवानपुरले भने संकलन भएको दुध बिक्रि गर्न समस्या भएको जनाएको छ । जिल्लामा जारी निषेधाज्ञाका कारण दुई दिनमा एक दिन मात्र सहकारीेले दुध संकलन गर्दै आएको छ । निषेधाज्ञा अघि दैनिक ४५ हजार लिटर दुध संकलन हुने भए पनि अहिले दिन विराएर संकलन गर्दा ५० हजार लिटर दुध संकलन हुन्छ । मकवानपुरमा संकलित दुध काठमाडौंका ७ उद्योगमा जाने गरेको छ । निषेधाज्ञा अघि सातामा तीन पटक दुध लिन आउने गाडि काठमाडौंबाट अहिले सातामा एकपटक मात्रै आउँने गरेको मकवानपुर दुग्ध सहकारी संघका व्यवस्थापक कुमारमणि दाहालले जानकारी दिए । 

हेटौंडा औद्योगिक क्षेत्रमा भएको हेटौंडा दुग्ध वितरण आयोजनाले मंगरबार र बुधबार दुध नलिने सुचना जारी गरिसकेको छ । यस्तो अवस्थामा १३ गतेपछि प्रशासनले कस्तो सुचना जारी गर्छ ? सोही आधारमा दुध संकलन र बिक्रि हुने अवस्था आकलन गरिने उनले बताए । दुध बिक्रि केन्द्रहरु खुल्न नपाउँदा संकलित दुध खपत नहुने अवस्था आएको उनको भनाई छ । 

सहकारीले जनस्वास्थ्यको मापदण्ड पु¥याएर दुध बिक्रि गर्दा पनि प्रशासनले रोक लगाएको छ । यसले एकातिर किसानहरुलाई दुध बिक्रि नभएर चिन्ता बढाएको छ भने उपभोक्ताहरु बजारमा दुध नपाएर चिन्तित बनेका छन् । यसबारे सहकारी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरमणि पाण्डेलाई ध्यानाकर्षण गराएको दाहालले जानकारी दिए । 


Author

थप समाचार
x