कृषि

एक लाख हेक्टरमा चैते धान लगाउने तयारीमा छौं : कृषिमन्त्री

कृषि विधेयक आगामी अधिवेशनबाट पारित गर्ने सरकारको तयारी

इकागज |
भदौ १७, २०८० आइतबार १८:३७ बजे

काठमाडौँ- कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कृषि नेपालको लागि मेरुदण्ड भएको उल्लेख गर्दै कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको रहेको बताए । उनले अहिले पनि देशको खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन नसकेको जिकिर गरे । ४८ प्रतिशत जमिन वर्षा याममा मात्रै सिँचाइ हुने र १८ प्रतिशत जमिन मात्रै सधैंभर सिँचाइ हुने अवस्था रहेको बताउँदै सिँचाइको समस्या समाधान गर्नु नै पहिलो काम रहेको उल्लेख गरे ।


यस वर्ष सरकारले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउने गरी काम सुरु गरेको उनकाे भनाइ छ ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले उपभोक्ताको घर र भान्सासम्म पुग्ने विषयलाई एउटा छाता कानुनका रूपमा कृषि विधेयक हाउसमा पेस गर्ने तयारी भइरहेको बताए । उनले आगामी अधिवेशनमा कृषि विधेयक संसदबाट पारित हुने र पारितपछि नेपालको कृषि क्षेत्रमा वृहत् कानुनी संरचनाको व्यवस्थापन हुने बताए । उनले नर्सरीले अब बिरुवा बेच्दा श्रोत खुलाएर मात्रै बेच्न पाउने नर्सरी निर्देशिका बनाइरहेको पनि जिकिर गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले अर्थतन्त्रलाई बलियो बनाउन सबैभन्दा पहिला भएको खेतीयोग्य जमिनको प्रयोग बढाउनुपर्ने बताए । उनले जमिनको प्रयोग नगरी अन्य माध्यमबाट देश समृद्ध हुन गाह्रो रहेको उल्लेख गरे ।

उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्रको समस्या पूर्ण रूपमा सकि नसकेको उल्लेख गरे । अर्थतन्त्र कमजोर बन्नुमा उत्पादन र रोजगारीको प्रमुख समस्या रहेको बताए । अर्थतन्त्रका समस्यालाई समाधान गर्न कृषि क्षेत्र नै नेपालका लागि एकमात्र माध्यम बन्नसक्ने बताए । 


Author

थप समाचार
x