कृषि

सिजनमा किसानले कहिल्यै पाउँदैनन् मल

इकागज |
जेठ १२, २०७८ बुधबार ६:१२ बजे

फाइल फोटो

हेटौंडा : कृषि प्रधान देश नेपाल भनिए पनि किसानले भनेको समयमा कहिल्यै मल पाउँदैनन् । यो समस्या अहिलेको मात्र नभई एक दशकदेखि मकवानपुरका किसानले झेल्दै आएको समस्या हो । मकै गोडेर मल हाल्ने समय जब आउँछ, तब मलको अभाव सिर्जना हुन्छ । धानमा मल हाल्ने समय आयो मल छैन । यस्तै समस्या झेल्दै किसानहरु खेतीपाती गर्दै आइरहेका छन् । 

बजारमा विशेष गरी रासायनिक युरिया मलको अभाव हुने गरेको छ । कहिले कृत्रिम अभाव । कहिले ठेकेदारले समयमै मलको आपूर्ति नगर्दा यस्तो समस्या आइरेहको कृषि सामग्री कम्पनी लिमिटेड हेटौंडा शाखाले जनाएको छ । जिल्लामा बैशाख महिनामा कृषि सामाग्री लिमिटेडले मल आयात गर्न सकेन । ढुवानीकर्ता परिवर्तन हुँदा मल आयात नभएको कृषि सामग्री कम्पनि लिमिटेड मकवानपुरका प्रमुख बल बहादु्र पन्थले बताए । 


७० प्रतिशत मलको आपूर्ति गर्ने जिम्मा पाएको कम्पनिले मल आयात गर्न नसक्दा मलको चरम अभाव सिर्जना भयो । साल्ट ट्रेडिङ हेटौंडा शाखाले केही टन मल आयात गरेपनि त्यसले मागको पूर्ति गर्न सकेन । यद्यपि साल्ट ट्रेडिङले मकवानपुरमा ३० प्रतिशत मलको माग पूर्ति गर्दै आएको छ ।  
 
यतिबेला मकवानपुरका दश वटै स्थानीय तहका किसान मल नपाउँदा समस्यामा परेका छन् । बारी र खेतमा लगाएको मकै, चैते धानमा समेत मल हाल्न नपाउँदा किसानहरु समस्या परेका हुन । सिजनमा समेत मल नपाउँदा समस्या भएको मकवानपुरगढीका किसान शम्भुप्रसाद हुमागाई बताउँछन् । निषेधाज्ञाका कारण रासायनिक मल वितरण हुन नसक्दा किसानहरू झनै चिन्तित बनेका छन् । 

अहिले जिल्लामा केही मल उपलब्ध भए पनि निषेधाज्ञाका कारण वितरण हुन सकेको छैन । मल पाउन मुस्किल भएको अवस्थमा धानको बीउ राखेका किसानहरू थप मर्कामा परेका छन् । जिल्लाका अधिकांश किसानहरुले धानको बीउ राखिसकेका छन् । समयमा मल नपाउँदा कृषि उत्पादनमा कमी आउने भएको कारण चिन्तित बन्नुपरेको कृषक राजकुमार नहर्की भन्छन् ।

अहिले किसानको माग अनुसार मल पाइदैन । कृषि सामाग्री कम्पनीले मंगलबार मात्रै जिल्लामा १ सय टन युरिया मल वितरण गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहका सहकारीहरुलाई कम्पनीले मल वितरण गरेको हो । १ सय १७ सहकारीमध्ये ३५ सहकारीलाई मल वितरण भएको कृषि सामग्रंी कम्पनि लिमिटेड हेटौंडाका प्रमुख पन्थले जानकारी दिए । 

जिल्लामा ५ गाडि मल आएको र सोही वितरण भएको थियो । ‘मल आउने क्रम जारी छ, अहिले थोरै–थोरै आउँछ, आएपछि सबै सहकारीहरुलाई वितरण गछौं ।’ उनले भने । यसरी सहकारीलाई २५ बोरा, ३५ बोरा मल वितरण हुँदा किसानहरुले २० किलो, १५ किलो मात्रै मल प्राप्त गर्छन । समानुपातिक ढंगले सबै सहकारीहरुलाई मल वितरण गरिए पनि किसान मलको अभाव भोग्न सिजनमै बाध्य छन् । हेटौंडा बजार क्षेत्रमा भन्दा ग्रामिण भेगमा मलको माग र खपत दुवै बढी छ । मल अभावको समाधान भने अझै हुन सकेको छैन । 


Author

थप समाचार
x