धानमा फड्के किराको प्रकोपले किसान चिन्तित
फाइल तस्बिर
देउखुरी - दाङको राप्ती गाउँपालिका–५ कालापानीका अमर पौडेलले रोप्नु भएको साँवा मन्सुली धानका बोट सबै सुकेर पराल बनेको छ । पराल पनि गाईबस्तुलाई खुवाउन नमिल्ने भएको छ । फड्के किराले असर गरेको छ ।
रोपेको करिब सय दिनसम्म राम्रै रहेको धानका केही बोटमा भदौको मध्य सातातिर किराले असर गर्न थाल्यो । अचानक धानका बोट सुकेर पहेँलो हुन थालेपछि उनले स्थानीय एग्रोभेटमा सम्पर्क गरे । त्यहाँबाट समस्या समाधान नहुने नभएपछि गाउँपालिकाको कृषि शाखालाई समस्याबारे जानकारी गराए ।
पालिकाबाट कृषि प्राविधिकले समस्याबारे जानकारी लिएपछि उनीहरूको को सल्लाह सुझावअनुसार विषादी छर्के पनि धान मर्ने क्रम रोकिएन । “सुरुमा थोरै बोटमा समस्या देखियो, के भएको रहेछ भनेर स्थानीय एग्रोभेटमा कुरा राखेँ । यो ठाउँमा पहिलो पटक यस प्रकारको समस्या देखिएकाले पनि यही भएको हो भन्ने करा सुरुमा पत्ता लागेन । पछि पालिकाको कृषि शाखामा सम्पर्क गरेर धानमा भएको समस्याका बारेमा जानकारी गराएँ”, पौडेलले भने, “पालिकाका कृषि प्राविधिकले स्थलगत अध्ययन अनुगमन गरेर अवस्थाबारे जानकारी लिए । सिफारिस अनुसारको विषादी छर्के पनि काम गरेन । औषधि जहाँ छर्यो त्यहाँका किरा मर्छ तर किरा फेरि बाँचेर अरू ठाउँमा असर गरिरहेको छ ।” करिब पाँच कट्ठा खेतमा रोपेको धान सुकेर पराल बनेको छ । “अहिलेसम्म धान खेतमा यस्तो समस्या भएको थिएन । यो पटक धानको बोट राम्रो थियो फल राम्रो लाग्ला भन्ने समयमा खै के भयो यस्तो बिजोग बनायो । वर्षभरि खाने धान सखाप भयो”, उनले भने ।
कृषक पौडेलको धान खेतमा समस्या देखिएको जानकारी पाएपछि पालिकाले कृषि प्राविधिक पठाएर समस्या पहिचान गदै फड्के किराले असर गरेको पुष्टि गरेको थियो । अनुसन्धान गर्दा फड्के किरा अर्थात् राइस होपरको प्रकोप पुष्टि भएको कृषि शाखा प्रमुख सीमा भट्टले बताए । उनका अनुसार उक्त गाउँपालिका–१, २, ५, ७ का वडामा फड्के किराको प्रकोप देखापरेकाले किसानलाई धान बाली भित्र्याउने बेलामा चिन्ता बढेको छ । धानका बोट धमाधम पहेँलो हुन थालेपछि पालिकाले के भएको हो भन्ने बारेमा बुझेर प्रकोप नियन्त्रणका लागि विषादी सिफारिस गरी थप प्रकोप नियन्त्रण गर्ने काम गरिरहेको कृषि शाखा प्रमुख भट्टले बताए ।
वडा नं ७ का कालीराम चौधरीले आफूले रोपेको धानमा पनि फड्के किराको समस्या देखापरेको बताए । केही दिनसम्म राम्रो रहेको धानमा अहिले फड्के किराले असर गर्दै लगेको उनले उल्लेख गरे । सुरुमा धानको बोटमा तल्लो भागका पातहरु र पछि माथिल्ला पातहरुसमेत पहेँलिँदै जाने गरेको चौधरीको भनाइ थियो । फड्के किराको आक्रमणका कारण हालसम्म राप्तीमा करिब १५ बिघाभन्दा बढी क्षेत्रको धान बाली पहेँलो भएर सुक्न थालेको किसानको गुनासो छ ।
कृषि ज्ञान केन्द्रले उक्त गाउँपालिकाका विभिन्न वडामा देखापरेको फड्के किराको प्रकोप जिल्लामा पहिलो पटक देखापरेको जनाएको छ । यसअघि यस प्रकारको कुनै समस्या नदेखिएको हुँदा त्यहाँको अवस्थाबारे स्थलगत अध्ययन गरेर मात्रै जानकारी गराउने केन्द्रका प्रमुख नरेश धितालले बताए । फड्के किरा धान बाली पसाउने बेलामा बढी मात्रामा देखापर्ने हुँदा कृषकले अबका दिनमा बढी सावधानी अपनाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो । देउखुरी क्षेत्रमा करिब साढे १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा सबैभन्दा बढी धान खेती राप्ती गाउँपालिकामा हुने गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया