तिहारमा सयपत्री फूलखेतीमा रमाउँदै सुर्खेतका कृषक
फूलखेतीबाटै मनग्य आम्दानी
सुर्खेत- गुर्भाकोट नगरपालिका–१४ का हीराबहादुर घर्तीमगरले गत वर्षदेखि सयपत्री फूलखेती गर्न थालेका छन् । उनले अहिले ३० कट्ठा जग्गामा फूलखेती गरेका छन् । विशेष गरी तिहारलाई लक्षित गरेर उनले सयपत्री र मखमली फूलखेती गरेका हुन् ।
मगरको कर्णाली ड्रागन फ्रुटकाे फार्मले अघिल्लो वर्ष पनि फूलखेती सञ्चालन गरेको थियो । गत वर्ष पाँच कट्ठा जग्गामा फूलखेती गरेका उनले अहिले भने यसलाई विस्तार गरी ३० कट्ठामा खेती गर्दै आएका छन् । ‘एक सिजनमा सात क्वीन्टल फूल बिक्री गर्दै आएका छौँ,’ उनले भने, ‘फूल खेतीबाट राम्रो आम्दानी हुँदै आएको छ ।’ यसपाली अब तिहारका समयमा फार्मबाट करिब ५० क्विन्टल फूल उत्पादन भएको उनले बताए ।
‘बजारमा पलाष्टिकका फूलहरू देखेर यहाँ पनि फूल खेतीको सम्भावना छ भनेर सुरुवात गरेको हुँ,’ उनले भने, ‘प्लाष्टिकका मालाको सट्टा गाउँमै उत्पादन भएका फूलको माला लगाउँदा राम्रो पनि देखिन्छ ।’
वीरेन्द्रनगर नगरपालिका–३ स्थित खुसी कृषि तथा पशुपन्छी फार्मले पनि चार कट्ठा जग्गामा नौ सय बिरुवा सयपत्री फूल उत्पादन गरेको छ । चाडपर्व, विवाह, समारोहमा फूलको माग देखेपछि व्यावसायिक उत्पादन थालिएको फार्म सञ्चालक रमा खड्काले बताइन् ।
सुर्खेतमा फूल व्यवसायको राम्रो सम्भावना भएको उनको अनुभव छ । तिहारका लागि एक क्विन्टल सयपत्री व्यापार भएको उनले बताइन् ।
वीरेन्द्रनगर नगरपालिका–८ की निर्मला ढकाल तिहार भित्रिएसँगै सयपत्री फूलको कारोबारमा व्यस्त छिन् । उनी अमर सहिद प्रहरी परिवारकी सदस्य हुन् । फूल खेतीले उनलाई जीविकोपार्जनका सहयोग पुगेको छ । त्यति मात्र होइन उनलाई पीडा भुल्ने माध्यम पनि बनेको छ फूलखेती ।
ढकालसहित १५ जनाको सहिद परिवारले २२ कट्ठा क्षेत्रफलमा पुष्पखेती सुरु गरेका छन् । उनीहरूले वीरेन्द्रनगर नगरपालिका–५ चिसापानीमा रहेको प्रदेश प्रहरीको सरकारी जग्गामा फूलखेती गरेका छन् । परिवार गुमाएको पीडा भुल्ने, जीविका चलाउन आयआर्जन गर्ने तथा तिहारमा बाहिरबाट आयात गरिने फूललाई विस्थापित गर्ने उद्देश्यले फूलखेती गरेको ढकाल बताउँछिन् ।
सुर्खेतका अमर सहिद प्रहरी परिवारले फूलखेतीबाट यस वर्षदेखि आम्दानी गर्ने प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले बताए । फूलखेती कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आवश्यक सहयोग तथा सहजीकरण गरिरहेको छ । सुर्खेतका कृषकहरूले फूलखेती सुरुवात गरेसँगै यहाँका पालिकाहरूले स्थानीय स्तरमा उत्पादन हुने फूलहरू प्रयोग गर्न आग्रह समेत गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया