दलित समुदायले उत्पादन गरेको दूध संकलन नगरे कारबाही
फाइल तस्बिर
बागलुङ - बागलुङको काठेखोला गाउँपालिकामा सागसब्जी तथा दूध उत्पादन गर्दै आएका किसानको सङ्ख्या धेरै छ । विशेषगरी वडा नं २, ५ र ६ का किसानले बाह्रै महिना दूध उत्पादन गर्छन् । ब्राहमण समुदायले घरबाटै दूध बिक्री गर्छन् तर दलित समुदायले सहकारीमार्फत पनि दूध बिक्री गर्न पाएका छैन । गाउँमा दूध संकलन गर्ने सहकारी तथा विभिन्न संस्थाले दलित समुदायले उत्पादन गरेको दूध नउठाइदिने गुनासो बढिरहेको छ ।
सरोकारवाला निकायले नै चासो नदिँदा दूध बिक्री गर्न नसकिएको दलित अधिकारकर्मी बताउँछन् । काठेखोला गाउँपालिकाले दलित समुदायले उत्पादन गरेको दूध बिक्रीमा आनाकानी गर्ने संघसंस्था तथा व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले दलित समुदायका किसानले उत्पादन गरेको दूध बिक्री नभएको गुनासो आएपछि गाउँपालिकाले कानुनअनुसार कारबाही गर्ने बताए ।
काठेखोला गाउँपालिकामा दूध बिक्री गरेरै धेरै किसानले परिवार चलाउँदै आएको भन्दै प्रवक्ता विकले गाउँपालिकाले पनि उनीहरुको सहजगताका लागि गाउँपालिका–२ अक्षतेमा दूध संकलन केन्द्र स्थापना गर्ने बताए । काठेखोलाको दूध बागलुङ बजारसँगै पोखरामा पनि बिक्री हुने गरेको छ ।
“संघसंस्था हुन् वा व्यक्ति कसैले पनि जातीय विभेद गरेर असामाजिक गतिविधि गर्न पाइँदैन, पछिल्लो समय छुवाछूत र विभेदका कारण दलित समुदायले उत्पादन गरेको दूध बिक्री नभएको गुनासो बढेको छ”, प्रवक्ता विकले भने । “गाउँपालिकाले यसलाई गम्भीररूपमा लिएको छ । अब जातीय विभेद भयो भने कानुनी दायरामा ल्याउन पालिका नै अग्रसर हुने कार्यपालिकाले निर्णय गरेको छ । हरेक नागरिकको पेसा व्यवसाय गरेर बाँच्न पाउन अधिकार हुन्छ । किसानको सहजगताका लागि गाउँपालिकाले पनि अक्षते बजारमा दूध संकलन केन्द्र स्थापना गर्नेछ ।”
काठेखोला गाउँपालिका–१ पालकाकी अस्मिता विकले दूध उत्पादन भए पनि बिक्री गर्न निकै समस्या भएको बताइन् । हिउँदमा कम भए पनि बर्षा याममा बढी दूध उत्पादन हुने तथा त्यो खेरजाने दुखेसो गरिन् । छरछिमेकीको घरको दूध बिक्री भए पनि दलित परिवारको नहुने उनले गुनासो पोखिन् । आफूहरु अन्यायमा पर्दा पनि सरोकारवाला निकाय मौन रहेको विक बताउँछिन् ।
सरकारले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको हो । त्यसयता पनि हाम्रो समाजमा छुवाछूत र जातीय विभेद कायमै छ । काठेखोला गाउँपालिका–२ भीमापोखराका चिन्तामणि विकले लामो समयदेखि दूध बिक्री नभएकामा संघर्ष गर्दै आएको बताए ।
गाउँमा दूध संकलन र बजारसम्म पुर्याउनका लागि सहकारी स्थापना भए पनि आफूहरुलाई शेयर सदस्यसमेत बन्न नदिएको बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया