कृषि

बाँदर नियन्त्रण गर्न ‘वनको बाँदर वनैमा’ कार्यक्रम

इकागज |
असार ६, २०८१ बिहीबार २१:५० बजे

गोरखा- गोरखाको पालुङ्टार नगरपालिकाले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रणका लागि ‘वनको बाँदर वनैमा’ कार्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाले सार्वजनिक गरेको आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममा बाँदरबाट बाली जोगाउन नयाँ नीति लागू गर्ने तयारी गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए ।

‘नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा किसानले लगाउँदै आएका खेतीबालीमा बाँदर, दुम्सी, मृगलगायतका वन्यजन्तुले बढी क्षति पु-याउने गरेको छ,' उनले भने, ‘त्यसका लागि समयमा नियन्त्रणको थालनी नगरे यहाँका किसानहरू कृषि पेशाबाट विस्थापित हुने अवस्था छ ।’


जङ्गली जनावरबाट बाली जोगाउँदा जनावरको अधिकारको ख्याल गरी प्राकृतिक उपायहरू अवलम्बन गर्ने नीति नगरपालिकाले लिएको छ । ‘कार्यक्रम कार्यान्वयनका लागि नगरक्षेत्र भित्र बाँदरको बढी प्रकोप भएका क्षेत्र पहिचान गरिनेछ,' नगरप्रमुख चिन्तनले भने, ‘सोही आधारमा बाँदरलाई जङ्गलमै रोक्न आवश्यक पहल गर्ने गाउँपालिकाको नीति छ ।’

कार्यक्रमअन्तर्गत बाँदरलगायत वन्यजन्तुबाट अन्न बाली जोगाउन जङ्गलमा फलफूल तथा बोट विरुवा लगाउने योजना छ । बढी प्रकोप रहेका क्षेत्रका किसानलाई बाँदरलगायतका वन्यजन्तुले नष्ट नगर्ने किसिमका बाली लगाउन प्रोत्साहनसहितको कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

नगरपालिकाको कतिपय क्षेत्रमा खुर्सानी, अदुवा, जौ, बेसार, टिम्मुर, कागती, कटहरजस्ता बालीको सम्भावना रहेको छ,' उनले भने, ‘यस्ता बालीबाट प्रशस्त आम्दानी गर्न सकिने र वन्यजन्तुले पुर्याउने क्षतिबाट जोगाउन सकिने भएकाले आगामी आवमा नगरपालिकाले वन्यजन्तुको प्रकोप बढी भएको क्षेत्रमा यस्ता बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।’


Author

थप समाचार
x