कृषि

विराटनगरको दुग्ध वितरण आयोजनाले किसानलाई ३६ करोड तिर्न बाँकी

इकागज |
साउन १, २०८१ मंगलबार १८:५५ बजे

काठमाडौँ- विराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकहरूलाई करिब ३६ करोड रुपैयाँ दूधको बक्यौता तिर्नुपर्ने देखिएको छ ।

निजी डेरीको दूध तथा दुग्धजन्य पदार्थको मूल्य सस्तो भएकाले विराटनगर दुग्ध वितरण आयोजनाको उत्पादनको बिक्री घटेकाले दूधको बक्यौता तिर्न नसकिएको आयोजनाले जनाएको छ । आयोजनाको दूध प्रतिलिटर ९८ रुपैयाँमा बिक्री गर्दै आएकोमा निजी डेरीले ९० रुपैयाँ प्रतिलिटरमा दूध बिक्री गर्दै आएको छन् ।


यसैगरी घिउको मूल्य प्रतिकिलो १ हजार २ सय रुपैयाँ रहेकोमा निजी डेरीले १ हजार रुपैयाँ प्रतिकिलोमा घिउ बिक्री गरिरहेको छ । अहिले सो आयोजनाले दैनिक करिब १९ हजार लिटर दूध खरिद गर्ने गरेको र उत्पादन थुप्रिँदा कोठा भाडामा लिएर दुग्ध उत्पादन राख्ने गरेको विराटनगर दुग्ध वितरण आयोजनाका निमित्त आयोजना प्रमुख परमेश्वर चौधरीले जानकारी दिए ।

उनले आर्थिक वर्ष ०८०/८१ मा ३६ करोड रुपैयाँ दूधको बक्यौता बाँकी रहेकोमा गत कार्तिकदेखि दूधको पैसा तिर्न नसकिएको बताए ।

आयोजनाले पहिले दैनिक ८ देखि १० हजार लिटर दूध तथा दुग्धजन्य पदार्थ बिक्री गर्दै आएकोमा अहिले दैनिक ५ हजार लिटर मात्र दूध तथा दुग्धजन्य पदार्थ बिक्री हुने गरेको जनाएको छ ।


Author

थप समाचार
x