कृषि

गरुडाका मेयरलाई बाँदरले क्षति गरेको उखु उपहार

इकागज |
साउन १७, २०८१ बिहीबार १५:४३ बजे

रौतहट- बाँदरले अनावश्यक दु:ख दिएको भन्दै रौतहटको मध्यभाग गरुडा नगरपालिकाका किसानहरू आन्दोलित भएका छन् ।

बाँदरले किसानको बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै जिल्लाको मध्यभाग गरुडा बजारको मूल सडकमा मेयर प्रत्यासी दीपककुमार यादवको नेतृत्वमा गएका किसानहरूले प्रदर्शनपछि मेयर कन्थमणि जैसवाललाई क्षतिग्रस्त उखु उपहार दिएका छन् ।


बाँदरले बालीनाली सखाप पारी आतंक मच्चाएको भन्दै बाँदर नियन्त्रणको माग गर्दै किसानहरू गत असार १५ गतेदेखि आन्दोलनमा उत्रिएका छन् ।

बाँदर नियन्त्रणका लागि यसअघि किसानहरूले असार १६ गते गरुडा नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए । प्रत्यासी यादवको नेतृत्वमा दर्जनौंको संख्यामा गएका किसानहरूले  बिहीबार मेयर कन्थमणि जैसवाललाई सम्बोधन गर्दै गरुडा नगरपालिकाको मूल गेटमा बाँदरले क्षति गरेको उखु उपहार स्वरूप राखेका थिए ।

गरुडा नगरपालिका वडा २ गेडही गुठी, ३ मलाहिटोल, वडा ४ गरुडा, वडा ८ बसबिटि जिंगडिया, गम्हरीयालगायत गाउँका किसानको बालीनालीमा बाँदरले क्षति पुर्याएको भन्दै बाँदरको उचित व्यवस्थापन तथा नियन्त्रण गरिदिन माग गर्दै आएका छन् ।

झण्डै चार सयको संख्यामा रहेको बाँदरको समूहले पछिल्लो चार वर्षदेखि गरुडा नगरपालिकाका किसानहरूले लगाउने धान, मकै, उखु, तरकारीलगायत बालीनाली नष्ट गर्दै आएको नेता यादवले बताएका छन् ।

वर्षभरिलाई पुग्ने खाद्यान्न बाँदरको हुलले एकैछिनमा सखाप पार्ने गरेका कारण धेरै मेहनत र लगानी गरेर बाली उब्जाउने किसानहरू निकै समस्यामा परेको किसानहरूले दुखेसो पोखेका छन् ।

२५ किलोमिटरभन्दा टाढा वनबाट आएका बाँदर फर्की जान नसकेर गरुडा नगर क्षेत्रको गाउँको छेउछाउमा बस्ने गरेको र किसानहरूको बालीमा क्षति पुर्याउने गरेका छन् ।

बाँदरले खेतबारीमा फल्दै गरेका मकै, उखुलगायतका बालीनाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानहरूको गुनासो छ । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा र उखु तयारी अवस्थामा बढी समस्यामा पारेको गम्हरीयाका किसान विनोद यादवको गुनासो छ ।

२० मिनेट मात्रै बाँदर खेतमा पसेमा सारा खेतिपाती नष्ट गर्ने भएकाले बाँदर नियन्त्रण गर्न अति आवश्यक रहेको उनीहरूको भनाइ छ ।  

राते, बाह्रबिसे र सेते प्रजातिका झण्डै चार सयको हाराहारीमा आउने बाँदरले किसानहरूलाई सताउने गरेको छ । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरू कामधन्दा छाडेर बाँदर धपाउने गरेका छन् । सबैभन्दा बढी बाँदरले रुचाउने मकै रहेको किसानहरू बताउँछन् । बाँदर नियन्त्रण गर्न मेयर जैसवालले चासो नलिएको किसानहरूको आरोप रहेको छ ।


Author

थप समाचार
x