कृषि

कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति

इकागज |
साउन २६, २०८१ शनिबार १६:४८ बजे

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पुर्याएको छ ।

अन्नपूर्ण–२ कटुञ्जको भिरबाट आज कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुभाइ कृषि तथा पशुपक्षी फार्ममा क्षति भएको हो । गएराति भिरबाट कालीगण्डकीमा खसेको पहिरोले ल्याएको छालले आठ सय ब्रोइलर जातका कुखुरा भएको खोर भत्किएको अन्नपूर्ण–२ वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । 


उनका अनुसार कालीगण्डकीको छालले सो फार्म वरपरको करिब १० रोपनी खेतबारीमा हिलो थुप्रिएको छ । फार्मका सञ्चालक गोपाल खत्रीले खोरभित्र रहेका सबै कुखुरा मरेका र दाना काम नलाग्ने भएको बताए ।

कालीगण्डकीको सतहभन्दा करिब २० मिटर माथिसम्म छाल आएको थियो । जनप्रतिनिधि र प्रहरीको टोलीले  १२ लाख बराबरको क्षति भएको अनुमान गरेका छन् । 


Author

थप समाचार
x