कृषि

दशैंअघि नै उखु किसानको रकम भुक्तानी हुन्छ : कृषिमन्त्री अधिकारी

इकागज |
भदौ ९, २०८१ आइतबार १९:८ बजे

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दशैंअघि नै उखु किसानको रकम भुक्तानी हुने बताएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले उखु किसानहरूको दशैंअघि नै रकम उपलब्ध गराउन मन्त्रालयले गृहकार्य थालेको बताए । उखु किसानको १ अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी रहेको उनले जानकारी दिए ।


त्यस्तै दुग्ध किसानले पाउनु पर्ने बक्यौता रकम उपलब्ध गराउन सुरु भएको र भाद्र ८ सम्म मसान्तसम्म ३३ करोड ५७ लाख भुक्तानी भइसकेको बताए । बाँकी १ अर्ब २७ करोड ४३ रकम पनि छिट्टै सबै किसानको हात हातमा पुर्याइने र यसको दीर्घकालीन समाधान गरिने उनले जानकारी दिए ।

उनले स्थानीय उत्पादन नलिने तर बाहिरबाट उखु र उखुजन्य कुरा खरिदलाई निरुत्साहित गर्ने गरी कार्य गरिने जानकारी दिए । मन्त्री अधिकारीले व्यक्तिले उत्पादन गरेको वस्तु स्थानीय बजार र स्थानीय तहलाई, बढी भएको प्रदेश हुँदै संघीय सरकारले उत्पादित वस्तु खरिद गर्ने गरी बजारको अभावमा किसान आहत हुनुपर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालय लागि परेको उल्लेख गरे ।

कृषकको वर्गीकरण गरी किसान कार्ड वितरण गरिनेछ । साथै किसानलाई प्रोत्साहन गर्न अनुदानलाई किसान सूचीकरणसँग जोडी प्रभावकारी बनाइने उनले बताए ।

त्यस्तै उनले कृषि विधेयक, संक्रामक पशु रोग विधेयक, पशु कल्याण विधेयक तथा बीउबीजन नियमावली मन्त्रालयबाट अगाडि बढाइने, साथै कृषि लगानी दशक फ्रेमवर्क कृषि विकास रणनीति तर्जुमान गर्ने धारणा राखे । रासायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनुको साथै निजी क्षेत्रलाई पनि मल खरिद र वितरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य भइरहेको उनको भनाइ छ ।


Author

थप समाचार
x