कृषि

थोक बजार भवनको अवस्था बुझ्‍न चोभारमा कृषिमन्त्री अधिकारी

इकागज |
भदौ २१, २०८१ शुक्रबार १७:० बजे

काठमाडौँ- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल थोक बजार भवनको काम तत्काल पूरा गर्न निर्देशन दिएका छन् ।

विसं २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी सुरु भएको बहुतले भवनको काम हालसम्म पनि पूरा नभएपछि मन्त्री अधिकारीले आज निरीक्षणपश्चात यस्तो निर्देशन दिएका हुन् ।


भवन निर्माणका लागि ११औँ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी रहँदा तेइस अझै १३ प्रतिशत काम बाँकी छ ।

 त्यसप्रति चासो र चिन्ता व्यक्त गर्दै कृषिमन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र कार्यसम्पादन गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले सम्झौताअनुसार काम नसकिए कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिए ।

“पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउनुपर्छ । यसका लागि मन्त्रालय आवश्यक सहजीकरण गर्न तयार छ । चोभारको बहुतले भवन सञ्चालनमा आउँदा उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुने छन् । त्यसैले भवन निर्माणमा कुनै पनि बहाना नगर्न निर्माण कम्पनीलाई मेरो आग्रह छ”, मन्त्री अधिकारीले भने ।

दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७३ असोजमा करिब रु ३५ करोडको लागतमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार काम नभएपछि २०८० चैत १३ यही भदौ मसान्तभित्र काम सम्पन्न गर्नेगरी ११औँ पटक म्याद थप भएको थियो ।

 थपिएको समयमा काम पूरा नहुँदा लागत बढेर रु ४० करोड बढी पुगेको छ । लागत बढ्दै जाने तर सम्झौताअनुसार काम नभएपछि कृषिमन्त्री अधिकारी मन्त्रालयका प्रतिनिधि, निर्माण कम्पनी र परामर्शदातासहित निर्माणस्थल पुगेका हुन् । - रासस

 


Author

थप समाचार
x