कृषि

झापामा ९३७ मेट्रिक टन कोदो उत्पादन

इकागज |
मंसिर २८, २०८१ शुक्रबार १५:२० बजे

फाइल फोटो

झापामा यस वर्ष ९३७.६७ मेट्रिक टन कोदो उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार ७२६.८८ हेक्टर क्षेत्रफलमा उक्त परिमाणमा कोदो उत्पादन भएको हो।

यस वर्ष प्रतिहेक्टर १.२९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताए। उनका अनुसार अधिकांश स्थानीय तहले कोदो उत्पादनका लागि अनुदान दिएका छन्।


भद्रपुर नगरपालिकाले परम्परागत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत यस वर्ष कोदो खेतीका लागि २५१ कट्ठा क्षेत्रफलमा प्रतिकट्ठा रु. एक हजारका दरले प्रोत्साहनस्वरूप किसानलाई अनुदान दिएको नगरपालिकाको कृषि शाखाका अधिकृत सुमन बिमलीले बताए।

कोदोजस्ता बालीले हाम्रो परम्परा, संस्कार र पहिचान संरक्षण हुनाका साथै किसानको आयआर्जनमा सहयोग पुग्ने भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताए।

रैथाने बाली प्रवर्द्धन कार्यक्रमले कृषिमा विविधता ल्याउने मात्र नभई स्थानीय समुदायको जीवनस्तर सुधार गर्न योगदान पुर्‍याउने उनको भनाइ छ। नगरपालिकाले आगामी वर्षमा कोदो खेतीको क्षेत्रफल विस्तार गर्दै प्रविधि हस्तान्तरण र उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको छ ।


Author

थप समाचार
x