कृषि

मौरीपालन व्यवसायमा आकर्षण

इकागज |
माघ ८, २०८१ मंगलबार १६:३१ बजे

त्रिवेणी (रुकुमपश्चिम)- रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ का कमलाल खड्काले मौरीपालन गर्न थालेको नौ वर्ष भयो । दशवटा गोलाबाट मौरीपालन सुरु गरेका खड्कासँग हाल एक सय २३ वटा मौरी गोला छन् ।

सोही मौरी गोलाबाट यस ‘सिजन’मा दुई सय २५ केजी मह उत्पादन भयो । उत्पादित मह पनि बिक्री भइसकेको छ । प्रतिकेजी एक हजार दुई सयका दरले यो सिजनको महबाट खड्काले दुई लाख ७० हजार आम्दानी गरेका छन् । गत वर्षभन्दा यो वर्ष भने मह उत्पादन घटेको उनले बताए ।


गत वर्ष उनले ७० वटा मौरी गोलाबाट दुई सय करिब ३८ केजी मह उत्पादन गरेको थियो । उक्त वर्ष मह बिक्रीबाट छ लाख ४० हजार आम्दानी भएको उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा ६० प्रतिशतसम्म कमी आएको मौरीपालक कृषकहरूको भनाइ छ । “महको माग बढिरहको छ, मह उत्पादन घटेका कारण ग्राहकलाई मागअनुसारको मह पु¥याउन सकिएको छैन्”, खड्काले भने ।

सोही वडाका ओमप्रकाश खड्का पनि पुराना मौरीपालक कृषक हुन् । उनीसँग हाल एक सय ५१ वटा मौरी गोला छन् । उक्त गोलाबाट एकपटकमा उनले तीन सय सय १२ केजी मह उत्पादन गरे । उत्पादित मह बिक्रीबाट तीन लाख ७५ हजार आम्दानी भएको छ । विसं २०५५ देखि मौरीपालन सुरु गरेका ओमप्रकाशको पनि यस वर्ष मह उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष आधाभन्दा बढी मह उत्पादनमा कमी आएको उनको भनाइ छ ।

गत वर्ष एक सय ४५ वटा मौरी गोलाबाट सात सय ४२ केजी मह उत्पादन भएको थियो । सोही वर्ष उत्पादित मह बिक्री गरेर आठ लाख ६१ हजार आम्दानी गरेको ओमप्रकाशले बताए । यस वर्षको यो सिजनमा कमलाल र ओमप्रकाशको मात्र नभई जिल्लाका अधिकांश मौरीपालक कृषकको मह उत्पादन घटेको छ ।

चिउरीको फूल फुल्ने समयमा पानी परेका कारण मह उत्पादनमा कमी आएको मौरीपालक कृषकले बताएका छन् । कात्तिकदेखि मह निकाल्न सुरु गरिन्छ । अधिकांश कृषकले मह निकाली सकेका छन् । तीन स्थानीय तह रहेको यस जिल्लामा सबैभन्दा बढी सिस्ने गाउँपालिकामा मह उत्पादन हुने गरेको छ ।

सिस्ने गाउँपालिकामा प्रायः सर्वसाधारणले मौरीपालन गर्ने गरेका छन् । भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकामा सिस्नेको तुलनामा मौरीपालन कम हुन्छ । मह बिक्री गरेर यहाँका कृषकले राम्रो आम्दानी गर्ने गरेका छन् । यस क्षेत्रको मह रुकुम पश्चिम, सल्यान, जाजरकोट, दाङ, पोखरा तथा काठमाडौँसम्म पुग्ने गरेको छ ।

रुकुम पूर्वमा तीन आर्थिक वर्षमा २४ दशमलव आठ मेट्रिक टन मह उत्पादन भएको छ । तीन स्थानीय तह रहेको रुकुम पूर्वमा उक्त परिमाणमा मह उत्पादन भएको हो । जिल्लाभर आर्थिक वर्ष २०७८/७९ मा छ दशमलव सात मेट्रिक टन मह उत्पादन भएको एकीकृत कृषि तथा पुशपन्छी विकास कार्यालय रुकुम पूर्वका प्रमुख डिल्लीराज पौडेलले जानकारी दिए ।

उनका अनुसार आव २०७९/८० मा अघिल्लो आवको भन्दा महको उत्पादन घटेर छ मेट्रिक टन उत्पादन भयो भने आर्व २०८०/८१ मा महको उत्पादन दोब्बर बढेर १२ दशमलव एक मेट्रिक टन मह उत्पादन भएको थियो । चालु आवको भने किसानहरुले मह निकाल्दै रहेका मह उत्पादनको विवरण प्राप्त नभएको प्रमुख पौडेलले जानकारी दिए । जिल्लामा किसानले प्रतिधार्नी मह (दुई दशमलव पाँच केजी) तीन हजारमा बिक्री गर्दै आएका छन् ।

रुकुम पूर्वमा तीन आर्थिक वर्षमा मह बिक्रीबाट मात्रै किसानले दुई करोड २५ लाख २४ हजार आम्दानी गरेका छन् । जिल्लामा व्यावसायिक मौरीपालन गर्ने किसानले दुई लाखदेखि सात लाखसम्म आम्दानी गर्ने गरेका छन् । एकीकृत कृषि तथा पुशपन्छी विकास कार्यालय रुकुम पूर्वका अनुसार आव २०७८/७९ मा छ दशमलव सात मेट्रिक टनबाट ८० लाख ४० हजार आम्दानी गरेका छन्भने आव २०७९०/८० मा महको उत्पादन घटेर छ मेट्रिक टन उत्पादन हुँदा ७२ लाख किसानले आम्दानी गरेका थिए ।

गत वर्ष भने मह उत्पादन दोब्बर उत्पादन भएर १२ दशमलव एक मेट्रिक टन मह उत्पादन हुँदा एक करोड ४५ लाख २० हजार रकम जिल्लामा भित्रिएको थियो । चालु आर्थिक वर्षको भने मह उत्पादनको विवरण आइसकेको छैन । विवरण प्राप्त नभए पनि यस वर्ष किसानले मह उत्पादनमा कमी आएको गुनासो गरिरहेकाले मह उत्पादनमा कमी हुनसक्ने कार्र्यालले अनुमान गरेको छ ।

जिल्लाभर कृषकले चार हजार तीन सय ८० घारमा मह उत्पादन गरिरहेका छन् । व्यावसायिक मौरीपानल गर्ने कृषकले एक सयदेखि एक सय ५० घारमा मौरीपालन गर्दै आएका छन् । जिल्लाभर आर्थिक वर्ष २०७८/७० मा एक हजार चार सय ८० घारबाट मह उत्पादन भएको थियो । भने आव २०७९/०८० मा मह उत्पादन हुने घारको सङ्ख्या घटेर एक हजार दुई सयमा मात्र मह उत्पादन भएको थियो ।

गत आवमा भने घारको सङ्ख्या बढेर एक हजार सात सय पुगेको थियो । मह उत्पादन पनि सोही मात्रामा बढेर १२ दशमलव एक मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष भने मह उत्पादनको विवरण तथा घारको सङ्ख्याको विवरण प्राप्त हुन बाँकी रहेको कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पौडेलले जानकारी दिए । रासस


Author

थप समाचार
x