आत्मनिर्भर बन्न नसक्ने मकै उत्पादन बढ्यो नेपालमा, पाँच वर्षमा भित्रियो करिब २४ लाख मेट्रिक टन मकै
नेपालमा उत्पादित मकैले तीन महिना धान्ने, भारतीय मकैको बर्चस्व
काठमाडौँ- नेपालमा धानपछि मुख्य बालीको रुपमा मकैलाई लिइन्छ । तर धानको जस्तो चर्चामा नरहे पनि पछिल्लो केही वर्ष यता बिस्तारै मकै उत्पादन वद्धि तथा बजारीकरण बढ्न थालेको पाइएको छ ।
नेपाल सरकारको तथ्यांकमा मधेस प्रदेशका सबै जिल्ला मकै उत्पादन बढिरहेको छ । महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा सबैभन्दा बढी मकै उत्पादन बढेको हो ।
तर अन्य जिल्लाको तुलनामा सप्तरी, सिरहा र धनुषा मा मकै उत्पादन कम रहेको छ । त्यसैगरी कोशी प्रदेशको सुनसरी र मोरङ्गमा पनि मकै उत्पादन हुने गरेको छ । तराईका जिल्लामा नेपालगञ्ज,दाङ, कैलाली,चितवन र मकवानपुरमा मकैको उत्पादन बढिरहेको छ ।
आर्थिक वर्ष २०७९/८० मुलुकभर २९ लाख ७६ हजार ४९० मेट्रिक मकै उत्पादन भएको थियो । कोशी प्रदेशमा ९ लाख ७२ हजार ७३ मेट्रिक टन्, मधेश प्रदेशमा १ लाख ९० हजार ८१६ मेट्रिक टन्, बागमतीमा ६ लाख ७५ हजार ३६५ मेट्रिक टन्, गण्डकीमा ३ लाख ८७ हजार ९०४ मेट्रिक टन्, लुम्बिनीमा ४ लाख ३३ हजार ४१६ मेट्रिक टन्, कर्णालीमा २ लाख १२ हजार ४५९ मेट्रिक टन् र सुदुरपश्चिममा १ लाख १ हजार ४५६ मेट्रिक टन मकै उत्पादन भएको छ ।
मकै उत्पादन बढ्यो, आत्मनिर्भर बन्न सकिएन
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार पछिल्लो वर्ष यता सबैभन्दा बढी मकै उत्पादन मधेश प्रदेशमा हुने गरेका छन् । कोशीका केही जिल्लामा पनि मकै उत्पादन भइरहेको उनको भनाइ छ । मोरङ्ग र सुनसरीमा मकैको उत्पादन हुने गरेको उनले जानकारी दिए ।
नेपाल सरकारले किसानलाई उपलब्ध गराएको बीउँमा कुनै समस्या नरहेको सूचना अधिकारी जोशीले बताए । सरकारले कृषकलाई प्रोत्साहन स्वरुप हाइब्रीड बीउँ उत्पादन गर्दै आएको छ ।
‘नार्कबाट हाइब्रीड खालका बीउँहरू पनि कृषकलाई उपलब्ध गराउने गरिएको छ । कृषकले आफ्नो जिल्लाको माटो सुहाउँदो बीउँहरू लैजाने गरेका छन् ,’ उनले भने,’ त्यस्ता बीउँहरूको प्रयोगले मकैजन्य कृषि सामग्रीको उत्पादन बढेको मान्न सकिन्छ ।‘
एक सिजनमा मात्र पाइने मकै अहिले वर्षभरी मुलुकका विभिन्न ठाउँमा देख्न सकिने उनले बताए । स्थानीय बजारमा जुनसुकै समयमा पोलेको मकै पाइने हुनाले पनि यसमा हाइब्रीड मकैको प्रभाव रहेको मान्न सकिने उनको तर्क छ ।
नेपालमा विदेशबाट आयात बीउँहरू ल्याइएका छन् । व्यवसायीले बीउँहरू आयात गर्ने गरेको उनले बताए । दुई वर्षसम्म बीउँको ट्रायल गरेपछि मात्र आयात अनुमति दिने जोशीले उल्लेख गरे । विदेशी बीउँहरू नेपाली माटो सुहाउँदो छ छैन भनेर ट्रायल गरेर मात्र आयात अनुमति दिने गरेको उनले सुनाए ।
बेला-बेलामा विदेशी बीउँ प्रयोग गर्दा भने मकैको उत्पादन कम हुने गरेको उनले प्रस्ट पारे ।
पछिल्लो समय मुलुकमा कृषि सामग्रीको उत्पादन बढे पनि विभिन्न मुलुकबाट मकै र बीउँको आयात रोकिएको छैन । अझ सरकारी तथ्यांकमा मकैको उत्पादन बढेको पनि आयात वृद्धि भइरहेको छ ।
भारतबाट सबैभन्दा धेरै मकै भित्रियो
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०१९/०२० मा मकैको बीउँ र मकै ४,८४,४४३ मेट्रिक टन आयात भएको थियो । २०२१/०२१ मा ५,९०,९४२ मेट्रिक टन मकै आयात भएको थियो । २०२१/०२२ मा ५,३९,६९५ मेट्रिक टन मकै आयात भएको थियो । २०२२/०२३ मा ४,३८,८७४ मेट्रिक टन मकै आयात भएको थियो । २०२३/०२४ मा ३,५२, ६२० मेट्रिक टन मकै आयात भएको थियो ।
हेर्नुहोस् तथ्यांक पाँच वर्षमा कति मकै आयात भयो?
केन्द्रका अनुसार सबैभन्दा बढी मकै भारतबाट आउने गरेको छ । त्यसपछि अर्जेन्टिना, ब्राजिल, बंगलादेश, म्यानमार, युएई, अमेरिका, चीनलगायत देशबाट मकैको बीउँ र मकै आउने गरेका छन् ।
किसानहरूमा बसन्ते मकै, हिउँदे मकै लगाउने चलन बढेकाले मकै उत्पादन बढेको कृषि वैज्ञानिक डा. घनश्याम भण्डारीले बताए । मकै उत्पादन बढे पनि किसान र राज्य उत्साहित भइहाल्नुपर्ने अवस्था नभएको उनको भनाइ छ ।
किसानले मधेश प्रदेशमा हाइब्रीड मकै लगाएकै कारण मकैको उत्पादन बढेको मान्न सकिने डा. भण्डारीको भनाइ छ । त्यसले नेपाली बजार उद्योग क्षेत्रमा कतिसम्म धानिरहेको छ भनेर अनुगमन गर्नुपर्ने अवस्था रहेको उनले सुनाए ।
उनका अनुसार असोज,कात्तिक र फागुन तथा चैतको महिनामा मकै लगाउने गरिएको छ ।
विदेशी हाइब्रीड र नेपाली हाइब्रीडको तादातम्य मिलाउन सकेमा मात्र पनि मकैको उत्पादनको सन्तुलनलाई मिलाउन सकिने भण्डारी बताउँछन् । अहिले मकै ९० हजार हेक्टर क्षेत्रफलको जमिनमा मात्र उत्पादन भइरहेको छ ।
मकै पर्याप्तता नहुँदा मनोपोली बढ्दै
‘मकैको उत्पादन बढे पनि पोल्ट्री व्यवसायहरूलाई अहिलेको मकैले नपुगेको अवस्था छ । कुखुरालाई बनाउने दानाहरू सबै मकैबाट बन्ने गरेको छ ,’ उनले भने,’ मुख्य कुरा मकैको पर्याप्तता नहुँदा विदेशबाट आयात गर्दा मासु र अण्डाको मूल्यमा वृद्धि भइरहेको छ ।‘
नेपालमा उत्पादित मकैले तीन महिनाभन्दा बढी धान्न नसक्ने उनले प्रस्ट पारे । यहाँको उत्पादनले बजार धान्न सकेमा मात्र मासुजन्य पदार्थको मूल्यमा गिरावट आउने उनले बताए ।
मकैको हाइब्रीड परीक्षण रामपुर,प्रवाणीपुर र इटहरीमा हुने गरेको छ ।
सिँचाइको व्यवस्था गर्न सकेमा वर्षभरी मकै उत्पादन गर्न सकिने डा.भण्डारीको भनाइ छ । मुख्यतया बढी तापक्रम भएको ठाउँमा छिटो मकै पाक्ने भएकाले त्यहीँ बढी उत्पादन गर्न सकिने उनले बताए । चिसो ठाउँमा मकै पाक्न अलिक समय लाग्ने उनले जानकारी दिए ।
मकै उत्पादन गर्न सरकारले मेगा प्रोजेक्ट ल्याउन उनले सुझाए । पूर्वाधार विकास गरी किसानलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । किसानलाई तालिम दिएर भण्डारणको उचित व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया