जुम्लामा हिउँदे वर्षा नहुँदा किसान समस्यामा
सांकेतिक फोटो
जुम्ला- जिल्लामा यस वर्षको हिउँद याममा वर्षा र हिउँ नपर्दा बाली सुक्दै गएपछि यहाँका किसान समस्यामा परेका छन् । हिउँदे बाली सुक्न थालेको तिला गाउँपालिका-१ का स्थानीयवासी जय बुढाले जानकारी दिए ।
गाउँमा सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमा कृषकले खेतीपाती गर्दै आएका छन् । लामो समयदेखि वर्षा नहुँदा किसानले लगाएका हिउँदे बाली सुक्न थालेको छ । यस याममा विशेष गरी स्याउका नयाँ बिरुवा लगाउने समय हो । माघको अन्तिम साता भइसक्दा पनि वर्षा र हिउँ नपर्दा यहाँका किसानलाई सास्ती भएको बुढाको भनाइ छ ।
जिल्लामा हिउँदे बालीको रूपमा गहुँ, जौ र विभिन्न तरकारी लगाइन्छ । हाल यी बाली वर्षा र हिउँ नपर्ला बारीमै सुक्न थालेपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । विगतका वर्षहरूमा समय समयमा पानी तथा हिउँ पर्ने गरेको थियो । यो वर्षको समयमै वर्षा नहुँदा उब्जनीमा ह्रस आउने यहाँका किसानको भनाइ छ ।
विगतका वर्षहरूमा हरेक हिउँदमा हिउँ पर्ने गरेको थियो र उब्जनी धेरै हुन्थ्यो । तर पछिल्लो वर्षहरूमा हिउँ सारै कम परिरहेकोले उब्जनीमा समेत कमी भएको छ । सिँचाइको सुविधा नहुँदा हिउँदे बालीमा असर भइरहेको तिला गाउँपालिका-१ का वडाध्यक्ष जंग बहादुर बस्नेतको बताए ।
जिल्ला भर कुल दुई लाख ५३ हजार एकसय हेक्टर क्षेत्रफल जमिन रहेको छ । यसमा ३८ हजार चार सय ८६ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ भने २६ हजार चार सय ३५ हेक्टर क्षेत्रफलको जमिनमा खेती गरिएको छ ।
सिँचाइ गर्ने योग्य जमिन तीन हजार छ सय ५० रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिए । जिल्लाको कुल क्षेत्रफल मध्ये १५ दशमलव २१ प्रतिशत खेती योग्य जमिन रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले जनाएको छ ।
खेतीयोग्य जमिनमध्ये हालसम्म आठ हजार ४४२ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको छ भने बाँकी खेतीयोग्य जमिनमा क्रमशः सिँचाइका योजना निर्माण कार्य भइरहेको प्रमुख शाहले बताए । यसपालि हिउँदमा वर्षा नहुँदा देशभर कृषि क्षेत्रमा सबैभन्दा ठूलो असर पर्ने देखिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया