कृषि

अर्गानिक कृषि उत्पादन

दिउँसो मात्रै देखिने हेलम्बु सागको ‘बहुगुणी’ कथा

साग खाएर हिमाल चढ्दा लेक नलाग्‍ने विश्वास !

सुनीता साखकर्मी |
फागुन १८, २०७७ मंगलबार ११:५५ बजे

हेलम्बु : ढुंगा छापेको गोरेटो बाटो । ढुंगाका कापमा विभिन्न थरी घाँस उम्रिएका छन् । ती घाँसहरुबीचबाट उनले केही चुँडे । हातैले पुछपाछ पार्दै मुखमा हाली चपाउन थाले । चपाइसकेपछि उनले भने ‘यो साग एकदमै न्युट्रिसियस हुन्छ । काँचै खाएपनि हुन्छ ।’ 

उनी अर्थात् काठमाडौं विश्वविद्यालयका सल्लाहकार एवं आइडिया स्टुडियोका सहसंस्थापक एवं अध्यक्ष डा. छिरिङ लामा । ह्योल्मो जातिको छेच्यु पूजाका लागि केही दिनअघि उनी हेलम्बुको सेर्माथाङ पुगेका थिए । लामो समयपछि गाउँ पुगेका उनले काँचै खाएको सागमा केही फूल फुलेका थिए ।  


वरिपरि झुपुक्क कोपिला । बीचमा स-साना सेता फूल । झट्ट हेर्दा चुनित्रोको घाँस जस्तो देखिए पनि यसको पात र बनावट त्यस्तो थिएन । किनकि चुनित्रो एउटा थुंगामा एक्लै फुल्छ । तर यसको एउटै थुंगामा पनि थुप्रै कोपिला थिए । केही फुलिसकेका, केही फूल्ने क्रममा ।

ह्योल्मो संस्कृतिविद् टासी दोङबा ह्योल्मोका अनुसार यो सागलाई ह्योल्मो भाषामा ‘घ्याम्जो काङबा’ भनिन्छ । यसलाई प्रायः हिमाली गाउँतिर काँचै अथवा सुपको रुपमा पकाएर खाने गरिन्छ । ‘मैले पनि सानोमा टन्नै खाएको छु,’ उनी भन्छन्, ‘गाउँघरतिर कोही बिरामी परे यही काँचै वा पकाएर खुवाउने गरिन्छ ।’

यही साग खाएर कयौँ पटक टासीले पनि आफ्नो भोक मेटेका छन् । गाउँमा जताततै पाउने भएकाले खोज्ने झन्झट पनि भएन उनलाई । बसन्त ऋतुको समयमा यस्ता साग टन्नै पाइने उनको भनाइ छ । उनी भन्छन्, ‘तरकारी अभाव भएका बेलामा त यो नै पकाएर खाने गरिन्छ । कतिले गाउँमै टिप्छन् भने कति यो साग खोज्न जङ्गल पुग्छन् । जे होस्, अभावका बेला छाक टार्छ ।’ 

यसको महत्व कति छ ? र यसबारे अध्ययन भएको छ वा छैन भन्नेबारे टासीलाई थाहा छैन । तर यसले विभिन्न रोगहरु भने निदान गर्न सक्ने क्षमता राख्ने भएकाले यसबारे अध्ययन हुनुपर्ने उनी बताउँछन् । त्यस्तै झुमोथाङमा रिसोर्ट सञ्चालन गरिरहेकी सानु शेर्पा पनि बेला-बेला यही साग पकाउँछिन् । उनको भाषामा यसलाई ‘झाझा कम्बु छोमा’ भनिन्छ । 

उनका अनुसार यो सागको स्वाद अन्य साग जस्तै हुन्छ । यसलाई अन्य साग जस्तै पकाएर खान सकिन्छ । उनले यो साग सुकाएर पनि जम्मा पारेकी छन् । उनी भन्छिन्, ‘यो साग दिउँसो मात्रै देखिन्छ । घाम लागेन भने यो साग देखिँदैन । त्यसैले दिउँसो भेटिएको बेला टन्नै टिपेर ल्याउँछु । सुकाएर राख्छु । अनि पछि पनि खान हुन्छ ।’ 

उच्च हिमाली भेगतिर चढ्दा लेक लाग्ने समस्या हुनेहरुले पनि यसलाई खाएमा लेक नलाग्ने उनको विश्वास छ । भन्छिन्, ‘यो खायो भने लेक लाग्दैन भन्छ, तर हो कि होइन भनेर थाहा छैन ।’ 


 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x