देश बनाउन परदेश हिंडेकाहरुकाे ‘सनैया’ सार्वजनिक
काठमाडौ : कान्तिपुर दैनिकको कतार प्रतिनिधीको रुपमा रहेर खाडीमा काम गर्दा होम कार्कीले देखे–भेटेका पात्रमाथि लेखिएको ‘सनैया’ सार्वजनिक भएको छ । किताब पब्लिसर्सले प्रकाशन गरेको ‘सनैया’ सोमबार सार्वजनिक भएको हो ।
कार्कीले पुस्तकमा उजाड मरुभूमिमा सुन्दर जीवनको खोजी गर्ने र आफ्नो श्रमलाई रियाल, दिनार र दिराममा साटेर नेपाल पठाउने मजदुरको कथा समेटेका छन् । ‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारहरूलाई भेटेर फर्कन्थेँ, त्यो रात मेरो निद्रा भाग्थ्यो ।
फिटिक्कै निदाउन सक्दिनथेँ । बन्द गरेका आँखावरिपरि उनीहरू झल्झली घुमिरहन्थे । ती झझल्कोलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो,’ लेखक होम कार्की भन्छन्, ‘यो किताब त्यसैको परिणाम हो ।’
कार्की विगत एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाहरुको रिपोर्टिङमा संलग्न छन् । त्यस क्रममा चार वर्ष दोहामा बसेर पत्रकारिता गरेको अनुभव उनीसँग छ । कार्कीले कतार, साउदी अरब, बहराइन, ओमन र कुवेत गएर गरेका स्थलगत लेखनले पनि राम्रो चर्चा पाएका थिए ।
यो किताब उनले खाडी क्षेत्रमा कार्यरत् ५ सय ४० जना नेपाली कामदारसँग कुराकानी र अन्तर्वार्ता गरेको आधारमा तयार पारिएको हो । यो पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरूको उत्पीडन र संघर्षको चक्रलाई भिन्न–भिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको छ ।
यसमा पाठकले पिडा र समस्या, आँसु र पसिनामात्र हैन, खुशी, प्रेम र सफलताका असामान्य घट्नाहरू पनि पढ्न पाउने प्रकाशकले विज्ञप्तिमा जनाएको छ । पुस्तक १८ अध्यायमा बाँडिएको छ । नेपाली मजदुरको बाहुल्य रहेको कतारको सनैया क्षेत्रको नामबाट पुस्तकको नाम जुराइएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया