कला

दमनराज तुलाधरको दुर्लभ आत्मकथा बजारमा

इकागज |
कात्तिक २३, २०७७ आइतबार १६:३४ बजे

काठमाडौं  :  जहानियाँ राणा शासनविरुद्धको संघर्षका योद्धा र पञ्चायतको पहिलो दशकमा राजा महेन्द्रकासहयोगी दमनराज तुलाधरको आत्मकथा ‘दमनराज तुलाधर’ सार्वजनिक भएको छ । ‘नेपाली माटो चिनेको नमूना आत्मकथा’को उपमा पाएको यो आत्मवृतान्त इमान्दार बयानको उदाहरणको रुपमा लिइन्छ । २०३९ सालमा प्रकाशित यो पुस्तक यही इमान्दारीकै  कारण प्रतिबन्धमा परेपछि  दुर्लभ हुनपुगेको थियो । 

‘सचेत नेपाली पाठक यत्तिको महत्वपूर्ण ऐतिहासिक दस्तावेजबाट वञ्चित हुनु नपरोस् भनी बुक हिल पब्लिकेसनले क्लासिक सिरिज अन्तर्गत यसको दोस्रो संस्करण प्रकाशन गरेको हो’, प्रकाशक भूपेन्द्र खड्काले भने । १९९७ सालको प्रजापरिषद् काण्डदेखि सात सालसम्म नेपाली माटोमा भएको प्रजातान्त्रिक संघर्ष, प्रजातन्त्र स्थापनापछि नेपाली राज्यको सत्ता–अभ्यास र पञ्चायतकालमा नेपाली परराष्ट्र नीति निर्माण एवं कार्यान्वयनका भित्री कथा यस पुस्तकमा रहेका छन् ।


‘एउटा दृढ–संकल्पित राजनीतिक कार्यकर्ता, निजामती प्रशासक, कुशल लेखक–अनुवादक तथा असल पति र पिताको इमानदार आत्मकथा पढ्दा जो कोहीलाई शिक्षा, प्रेरणा र मार्गदर्शन मिल्न सक्छ’ पुत्री प्रतिमा तुलाधरले भूमिकामा उल्लेख गरेकी छन् ।  पुस्तकका लेखक दमनराज तुलाधर राणा शासनविरोधी आन्दोलनका योद्धा, प्रजातन्त्र स्थापनापछिका कुशल प्रशासक, र जीवनको उत्तराद्र्धमा राजा महेन्द्रका सहयोगी, सल्लाहकार, विश्वसनीय पात्र एवं राजाका मन्तव्यका मस्यौदाकार र अंग्रेजी अनुवादक पनि हुन् । कूल ३०० पृष्ठको पुस्तकको पेपरब्याक संस्करणको मूल्य ५५५ रुपैयाँ रहेको छ ।


Author

थप समाचार
x