कला

अनमोलको जन्मदिन विशेष :  फिल्म खोजिरहेको एउटा स्टार

इकागज |
चैत १७, २०७७ मंगलबार १५:२५ बजे

काठमाडौं  :  अभिनेता अनमोल केसीले आज २७ औं जन्मदिन मनाइरहेका छन् । अभिनेता भुवन केसी र सुष्मिता केसीका एक मात्र सन्तान अनमोल नेपाली फिल्मका एक मात्र बिकाऊ स्टार हुन् । बिकाऊ यस अर्थमा कि आज पनि उनको नाममा एक हदसम्म दर्शक हलमा आउँछन् । उनका फिल्मले अन्य तथाकथित स्टारले भन्दा निर्माताको पैसा कम डुबाउँछन् ।

अनमोलले फिल्म ‘होस्टल’बाट आजभन्दा ८ वर्षअघि नेपाली फिल्ममा डेब्यू गरेका थिए । त्यसयता उनले यो अवधिमा आठै फिल्ममा अभिनय गरेका छन् । 
अनमोलको सुरुका चार फिल्म ‘होस्टेल’, ‘जेरी’ ‘ड्रिम्स’ र ‘गाजलु’व्यवसायिक रुपमा सफल फिल्म थिए । ‘जेरी’का निर्माता आफ्नो लगानी नउठेको गुनासो गर्थे तर त्यो फिल्म चल्दा हलमा दर्शकको राम्रो भिड थियो । गोपीकृष्णमा त स्कुले विद्यार्थी धेरै आएको भन्दै प्रहरीले नै हस्तक्षेप गर्नु परेको थियो । 


यसरी ‘ब्याक टु ब्याक’ सफल फिल्म दिएपछि कलाकारको जीवनमा जे हुन्छ त्यही सुरु भयो । अर्थात् अनमोलमाथि बजार हाबी हुन थाल्यो । त्यो भनेको कलाकारको अभिनय हैन उसले पाउने पैसाको कुरा हुन थाल्यो । यसको सुरुवात भयो पाँचौं फिल्म ‘कृ’बाट । यो फिल्ममा पहिलो पटक उनले २० लाख पारिश्रमिक लिएको कुरा अहिलेको भाषामा भन्दा ‘भाइरल’ भयो ।

यो फिल्ममा अनमोल अघिल्ला ४ फिल्मको ‘कम्फर्ट जोन’बाट बाहिर निस्कने प्रयास गरे । जिम गए, कपाल लामो बनाए, एक्सन गरे । अनि सबैभन्दा राम्रो कुरा नृत्यमा व्यापक सुधार गरे । नाच्न नआउने आरोप खेप्दै आएका उनले ‘कृ’को ‘यतियति पानी’ बोलको गीतमा मज्जाले नाचेर आलोचकको मुख थोरबहुत बन्द गर्न सफल भए ।

तर, यतिबेलासम्म पनि अभिनय गर्न नआउने आरोप भने चिर्न सफल भएनन् । अन्ततः यो फिल्म अनमोलको सबैभन्दा धेरै घाटा खाने फिल्म साबित भयो । 
यसपछि होम प्रडक्सनबाट बनेको ‘क्याप्टेन’ले घाटा खाने मामलामा ‘कृ’को सिको गर्यो । ‘क्याप्टेन’मा व्यवसायिक फिल्ममा चाहिने सबै कुरा थोपरिएको थियो तर फुटबलमाथि बनेको यो फिल्मले दर्शकको मनमा स्कोर गर्न सकेन । यसबाट पनि निर्माताले थोरबहुत घाटा खाए । 

एउटा कलाकारलाई कलाकार बनाउन हिटको जति खाँचो हुन्छ फ्लपको पनि त्यतिकै खाँचो हुन्छ । तर, अनमोलले त्यो फ्लप महसुस गर्न पाएका छैनन् । फ्लपले कलाकारलाई जमिनसँग जोडी राखेको हुन्छ ।  तर, मिडिया अनमोलप्रति कठोर नहुँदा उनको जति आलोचना हुनुपथ्र्यो त्यति भएको छैन ।

अझ यसमाथि अनमोललाई लिएर फिल्म बनाउन खोज्ने निर्माता÷निर्देशकको चापले पनि उनलाई आफ्नो करिअरलाई कसरी अगाडि बढाउने भन्ने चिन्तन गर्न दिएको छैन । तर, यो कन्फर्म हो, अनमोलले अहिलेकै सफलतामा रमाइरहने हो भने जसरी राजेश हमालले आफूलाई मनपर्ने आफ्नै फिल्मको नाम भन्न सक्दैनन् त्यही अवस्था अनमोलको पनि हुनेछ ।

हिटकै मात्र कुरा गर्ने हो भने वितरकका अनुसार एक समय राजेश हमाल उभिएका सबै फिल्मले पैसा कमाउँथे ।  अनमोलले आठ वर्ष लामो अभिनय यात्रामा रिस्क लिन खोजेको देखिएको छैन । उनले लभस्टोरीबाट एक्सन फिल्म खेल्नु वा गरिब हुनु कुनै रिस्क हैन । 

धेरैलाई लाग्दो हो ‘कृ’मा उनले एक्सन गरेका थिए अनि ‘क्याप्टेन’मा गरिब बनेका थिए । तर, दुवै फिल्ममा उनले ‘हिरोइज्म’ छाड्न सकेका छैनन् । यसका लागि उनले निर्देशकलाई मात्र दोष दिएर उम्कन पाउनेछैनन् । स्टार अनमोल हो, उनले दर्शकले खोजेको सिनेमा दिने मात्र होइन, दर्शकको रुचि परिवर्तन गर्ने सिनेमा पनि छान्न सक्नुपर्छ ।   

अहिले अनमोललाई बजारमा चलेका फिल्म निर्देशकको फिल्म छान्नुपर्ने दबाब छ । अहिले उनलाई हेमराज बिसी, दिनेश राउत, निगम श्रेष्ठ, सिमोश सुनुवार, मुकुन्द भट्ट आदि निर्देशक आफ्नो फिल्म खेलाउन प्रतिस्पर्धा गरिरहेका छन् । बजारमा जाँच दिइसकेका यी निर्देशकलाई भरोसा गर्ने कि ? प्रतिस्पर्धामा नरहेका निर्देशक खोज्ने, अनमोलले विचार गर्ने समय आएको छ ।

 अनमोल स्टार हुन् यसका शंका छैन तर उनको स्टारडम कायम गर्न उनलाई सोलिड हिटको जरुरी छ । यस्ता फिल्म व्यवसायिक हुन् वा आर्ट हाउस तर तिनमा अनमोलको बलियो उपस्थिति रहन जरुरी छ । नत्र भने राजेश हमाललाई ‘महानायक’ भारी भएझैं अनमोललाई पनि ‘मेगास्टार’को बोझ भारी हुनेछ । 


Author

थप समाचार
x