बुध्दिसागर र निश्चलको दोस्ती ‘जिन्दावाद’
निश्चल बस्नेत फिल्म निर्देशनका हिरो हुन् भने बुध्दिसागर साहित्यका । जसरी फिल्म हेर्ने/बनाउने युवाबीच निश्चल रोल मोडल मानिन्छन् उसरी नै साहित्यमा त्यही स्थान बुध्दिसागरको छ । आआफ्नो क्षेत्रका यी सेलिबे्रटी पहिलोपल्ट एउटा फिल्मका लागि जुटेका छन् । निश्चलले निर्देशन गर्न ठिक्क परेको ‘जिन्दावाद’ बुध्दिसागरले लेखेका हुन् । ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुध्दिसागर र निश्चलको सहकार्य कसरी सम्भव भयो ? निश्चल र बुध्दिसागर दुवैले छोटो उत्तर दिए, ‘ख्यालख्यालमा’ ।
पत्रकार र कविका रुपमा सक्रिय बुध्दिसागर २०६६ मा निस्किएको ‘कर्नाली ब्लुज’पछि साहित्यका सेलिब्रेटी भए । यसको ठिक दुई वर्षपछि निश्चलले ‘लुट’ निर्देशन गरे र यो फिल्मपछि निश्चल पनि सेलिब्रेटी भए । दुवै क्षेत्रका सेलिब्रेटी विभिन्न जमघटमा भेटिन थाले र साथी बने ।
यी दुवैलाई नजिक्याउने तन्तु थियो, उही फिल्म । किनकि साहित्य लेखे पनि बुध्दिसागर फिल्मका किरो थिए । फिल्मका विषयमा घन्टौँ कुरा गर्न सक्ने । अझ बुध्दिसागर अनौपचारिक गफ पनि यति स्वादले गर्ने कि यो सुनूँ सुनूँ लाग्ने । निश्चल बुध्दिको यही गफ गर्ने शैलीको कायल थिए । बुध्दिको गफ सुनिरहँदा निश्चललाई लाग्थ्यो, ‘फिल्ममा यस्तै क्याजुअल पात्र प्रस्तुत गर्न पाए पो ।’ बुध्दि पनि निश्चलको सोच र फिल्मदेखि प्रभावित थिए । एउटा विन्दुमा गएर निश्चलले बुध्दिलाई फिल्म लेख्ने प्रस्ताव गरे ।
‘बुध्दिसागर दाइको किताबको मात्र होइन, म उहाँको कुरा गर्ने शैलीको फ्यान हुँ । जहिले पनि उहाँसँग भेट हुँदा यति धेरै हँसाउने कि मेरो पेटै दुख्थ्यो । अनि हामीले सिनेमामा पनि खोज्ने यस्तै क्याजुअल पात्र हो । उहाँले आफूजस्तै रोचक पात्र लेख्नुभयो भने गज्जब हुन्छ भन्ने लागिरहन्थ्यो,’ निश्चलले विगत सम्झँदै भने ।
यही बीचमा निश्चलले ‘ब्रम्हजङको भिडियो’को स्क्रिप्ट पढे । साहित्यको मान्छेले फिल्म लेख्न सक्नुहुने हो कि हैन भन्ने द्विविधा थियो । तर, यो स्क्रिप्ट पढेपछि उनी बुध्दिसागरको लेखाइमा लोभिए । ‘यस्ता धेरै कारणले उहाँको स्क्रिप्टमा काम गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । तर, गर्नुहुन्छ कि हुन्न भन्ने डर थियो । एक बसाइमा मैले क्याजुअल्लीमा सँगै काम गरौँ भन्ने प्रस्ताव गरेँ । उहाँले स्वीकार्नुभयो,’ निश्चलले इकागजसँग भने ।
निश्चल, ‘बुध्दि दाइसँग भेट हुँदा यति धेरै हँसाउने कि मेरो पेटै दुख्थ्यो । म उहाँ जस्तै क्याजुअल पात्र खोज्थेँ ।’
बुध्दिसागरलाई पनि फेरि एक पटक स्क्रिप्टमा काम गर्न मन थियो । ‘ब्रम्हजङको भिडियो’ लेख्दा पनि उनलाई आनन्द आएको थियो तर धित मरेको थिएन । निश्चलको प्रस्ताव स्वीकार्न बुध्दिलाई यही अवचेतनले काम गर्यो ।‘काम गर्ने त भनियो तर हामीसँग कथा थिएन । के विषयमा फिल्म बनाउने भनेर लामै समय घोत्लिएपछि एउटा दर्शनमा हामी अडियौँ,’ बुध्दिले इकागजसँग सुनाए, ‘निश्चलसँग जिन्दावाद नाम पहिलादेखि नै थियो । पछि कथा बुन्दै जाँदा यही नाम ठिक हुने देखियो । मैले अन्तिम ड्राफ्ट बुझाइसकेको छु । कोरोना सकिएपछि सायद सुटिङमा जाला ।’
निश्चल स्क्रिप्टको स्वरूपबाट सन्तुष्ट छन् । नेपाली फिल्म अडियो-भिडियोको सीमितताबाट बाहिर निस्कन नसकेको आरोप लागिरहेका बेला निश्चल नयाँ फिल्मबाट त्यो आरोप चिर्न सकिन्छ कि भन्ने प्रयत्नमा रहेको बताउँछन् ।
निश्चल भन्छन्, ‘अरूले लेखेको स्क्रिप्ट चित्त नबुझेर मैले आफैँ लेख्न थालेको हो । तर, यस क्रममा म आफैँलाई पनि महसुस भयो कि हामी नेपाली फिल्ममा अडियो र भिडियो मात्र पास गरिरहेका छौँ । साहित्य दिन सकेका छैनौँ । जिन्दावादमा त्यो दिने प्रयास रहनेछ ।’
साहित्यको मान्छे भए पनि बुध्दि फिल्मी किरो हुन् । दिनमै तीन-चारवटा फिल्म हेर्न सक्छन्, उनी । सीडी-डीभीडी किन्न बुध्दिसागरले महाबौध्दको कति यात्रा गरेका छन्, उनका संस्मरणमा बाक्लै पढ्न पनि पाएका छन्, उनका पाठकले । फिल्ममा बुध्दिलाई मन पर्ने विधा ‘ट्राभलग’ हो । उनले यो विधाका फिल्म पाएसम्म नछुटाई हेरेका छन् । उनलाई नेपालमा पनि यस्तो विधाका फिल्म बने हुन्थ्यो भन्ने लाग्थ्यो । तर, लामो समयसम्म नबन्ने छाँट देखेपछि बुध्दि आफैँ तात्तिएका हुन् ।
बुध्दिसागर, ‘जीवनमा हामी खुसी वा सन्तुष्टि खोज्न कहाँ-कहाँ भौतारिन्छौँ, तर यस्ता कुरा हामीबीच नै हुन्छन् । फिल्ममा यस्तै कुरा देखाउन खोजेका छौँ ।’
‘साहित्य होस् या फिल्म दुवैमा यात्रा मलाई असाध्यै मन पर्छ,’ बुध्दि कारण दिँदै भन्छन्, ‘एउटा त यात्राले मानिसलाई नै परिवर्तन गरिदिन्छ । अर्को चाहिँ यस्ता फिल्ममा लोकेसन एकै हुन्न, दृश्य फेरिन्छ । नाटकीय पनि हुन्नन् ।' तर, फिल्ममा यात्रा मात्र रहनेछैन । बुध्दिको भनाइमा फिल्मलाई उनीहरूले एउटा दर्शनको धागोले डोर्याएका छन् । 'जीवनमा हामी खुसी वा सन्तुष्टि खोज्न कहाँ-कहाँ भौतारिन्छौँ तर यस्ता कुरा हामीबीच हाम्रो वरिपरि नै हुन्छन् । फिल्ममा हामीले यही कुरा देखाउन खोजेका छौँ,’ बुध्दिले बताए ।
बुध्दिले यो फिल्म लेख्न सालाखाला एक वर्ष लगाए । फिल्म लेख्ने सम्झौता गरेको केही समयपछि नै तीन महिने लेखन कार्यशालाका लागि अमेरिका उडेका बुध्दिले केही महिना त्यतै बताए । तर, लकडाउनमा घरमै बस्नु परेपछि उनले यही बीचमा फिल्म सकाए । स्क्रिप्ट तयार भए पनि निश्चलले कोरोना भाइरसका कारण सुटिङको तयारी थाल्न पाएका छैनन् । उनले फिल्ममा सुहाउने चरित्रको खाका मनमा राखिसकेका छन् तर व्यक्त गरिसकेका छैनन् ।
निश्चलका अनुसार तीन-चार जना पात्रको वरिपरि घुम्ने फिल्ममा नयाँ-पुराना दुवै अनुहार हुनेछन् । तर, के यी पुराना कलाकार ‘निश्चल र स्वस्तिमा हुन सक्छन् ?’ इकागजको प्रश्नमा निश्चलले जवाफ दिए, ‘फिल्ममा म आफू त खेल्दिनँ । निर्देशन मात्र गर्छु । जहाँसम्म स्वस्तिमाको कुरा छ, उसले पनि अहिलेसम्म स्क्रिप्ट हेरेको छैन । हेरेर चित्त बुझाएर गर्छु भन्यो भने गर्छ नत्र जसलाई चित्त बुझ्छ, उसैले गर्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया