कला

मिरुनालाई लन्डनस्थित नेपाली दूतावासको  सम्मान

इकागज |
कात्तिक २४, २०७७ सोमबार ११:२ बजे

काठमाडौँ  : बेलायतमा क्रियाशील नेपाली चलचित्रकर्मीहरूलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । दूतावासमा ‘नेपाली चलचित्र महोत्सव’ आयोजना गरी राजदूत डा दुर्गाबहादुर सुवेदीले उनीहरूलाई सम्मान गरेका हुन् । सम्मानित हुनेमा अभिनेत्री मिरुना मगर, अभिनेता धु्रुव दत्त, निर्देशकद्वय कुशल श्रेष्ठ र सनमकुमार वैराग आदि रहेका छन् । उनीलाई नेपाली खुकुरी, पुष्पगुच्छा र मायाको चिनोसहित राजदूतले सम्मान गरेका थिए ।


एक दशक लामो समय बेलायतमा रहेर मिडियाकर्ममा सक्रिय निर्देशक श्रेष्ठले झन्डै तीन दर्जन नेपाली म्युजिक भिडियो निर्देशन तथा छायांकन गरेका छन् । त्यस्तै, सम्मानित हुने अर्का निर्देशक सनमकुमार वैरागले नेपाल तथा बेलायतमा रहेर लामो समय कला क्षेत्रमा योगदान गरेका छन् । बेलायतमा आफ्नै निर्देशन र अभिनयमा नेपाली नाटकहरू प्रस्तुत गर्दै आएका वैराग चलचित्र निर्माण तथा निर्देशनमा सक्रिय छन् ।



‘लालपूर्जा’ बाट नेपाली फिल्ममा प्रवेश गरेकी मिरुनाले ‘रोज’,‘च च हुई’, ‘साइनो’ आदि फिल्ममा अभिनय गरेकी छिन् । त्यस्तै बेलालतमा बस्दै आएका धु्रव दत्तले ‘नाइन ओक्लक’, ‘तीन घुम्ती’ आदि फिल्ममा अभिनय गरेका छन् । उक्त महोत्सवमा बेलायतमा निर्मित नेपाली चलचित्र, नाटक र म्युजिक भिडियोको प्रस्तुत गरिएको थियो । बेलायतमा नेपाली चलचित्र, नाटक तथा नेपाली म्युजिक भिडियोको विकास, प्रचारप्रसार तथा बेलायतमा नेपाली चलचित्रको बजार प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गरिएको दूतावासले जनाएको छ ।


महोत्सवमा राजदूत सुवेदीद्धारा लिखित ‘दुख्ने मुटु’ र ‘अधर’ बोलका दुई गीतको म्युजिक भिडियो तथा निर्देशक सनमकुमार वैरागद्वारा निर्देशित ‘शून्य’ नामक लघु चलचित्रको लोकार्पण गरिएको थिए । महोत्सवमा बेलायतमा निर्माण भएका नेपाली चलचित्रहरूलाई समेटेर तयार गरिएको संक्षिप्त भिडियो पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा नाटक तथा चलचित्र निर्देशक तथा कलाकार वैरागले बेलायतमा नेपाली चलचित्रको विकास र विस्तार सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । 


Author

थप समाचार
x