कला

महामारीपछि नेपाली सिनेमाले सिकेको पाठ :  सानो बजेट, छिटो सुटिङ

सामीप्यराज तिमल्सेना |
चैत २०, २०७७ शुक्रबार १५:५२ बजे

काठमाडौं  :  अभिनेत्री ऋचा शर्माले निर्माण गरेको फिल्म ‘कौसीद’को सुटिङ अवधि थियो, १८ दिन । तर, ४ दिन अगावै फिल्म प्याक अप भयो । अर्थात् फिल्मको सुटिङ सकियो १४ दिनमा । 

डेढ–दुई घन्टे अवधिको फिल्म यति छोटो समयमा सक्नु धेरै फिल्ममेकरका लागि कल्पनाभन्दा परको कुरा हो । ८–१० दिन त थुप्रै फिल्ममेकरले एउटा गीतको सुटिङ नै गर्ने गरेका छन् । तर, महामारी पछि फिल्म बनाउने धेरै निर्माताको कुरा पत्याउने हो उनीहरूले २० दिन यता नै फिल्मको सुटिङ सकेका छन् । 


ऋचाले एउटा गीतको सुटिङ बाँकी राखेर १४ दिनमा नै सुटिङ सकाएको जानकारी गराइन् । उनका अनुसार गीतको सुटिङका लागि दुई–तीन दिन समय थप खर्च गर्दा पनि सुटिङ अवधि २० दिन नाघ्दैन । ऋचा भन्छिन्, ‘ उद्योग बचाउने यही नै उत्तम उपाय हो । कम खर्चमा मनोरञ्जक फिल्म ।’

लकडाउनको बीचमा नेपाली सिनेमाको भविष्यमाथि थुप्रै चिन्तन भए । ओटीटीको भविष्यसँगै नेपाली फिल्ममेकरले अँगाल्नु पर्ने फिल्ममेकिङ शैलीका विषयमा पनि लकडाउनभर थुप्रै छलफल चलेका थिए । यस्ता धेरै बहसको निचोड थियो, ‘अब नेपालले तडकभडकभन्दा पनि कम पैसामा चोटिलो फिल्म बनाउनु पर्छ । ४५ दिन हैन २०–२५ दिनमा सुटिङ सक्नु पर्छ ।’

नभन्दै थुप्रै निर्माताले यो मर्मलाई आत्मसात गरेका छन् । जस्तो कि वर्षा सिवाकोटी अभिनीत ‘ए साथी सुन’ले १६ दिनमा सुटिङ सकाएको जानकारी गराएको छ । यसले गीतको सुटिङबाहेक अन्य सुटिङ यति छोटो समयमा सकिएको हो । 

दीपेन्द्र के खनाल छोटो समयमा सुटिङ सक्न सिद्धहस्त मानिन्छन् । उनले ‘पशुपति प्रसाद’, ‘धनपति’ र ‘आमा’ जस्ता फिल्म छोटो समयमै सकाएका थिए । उनले पछिल्लो फिल्म ‘चिसो मान्छे’ पनि चाँडै नै सकाएका छन् । केही दिन अघि सुटिङ प्याकअप भएको जानकारी गराएका उनले काठमाडौंदेखि बाजुरासम्म अटाएको फिल्म २७ दिनमा सकेको जानकारी गराएका छन् ।

सुवर्ण थापाले निर्देशन गरेको ‘राधा’ पनि छोटो समयमै सुटिङ सक्ने फिल्ममा पर्छ ।  ‘राधा’ले ३० दिनमा सम्पूर्ण सुटिङ सकेको हो । तर, निर्देशक सुवर्ण थापा गीत र फाइटविनाको सुटिङलाई ३० दिन लगाउनु छिटो मान्न नमिल्ने बताउँछन् ।  ‘केही फिल्म त ९० दिन पनि लागेको सुन्छु । यो हिसाबले हेर्दा त ठीकै हो । नत्र त गीत–फाइटविनाको फिल्म ३० दिन लामै समय हो,’ थापाले भने । 

सुटिङ सकेका फिल्म मात्र होइन, सुटिङमा जाने तयारीमा रहेका फिल्मले पनि लामो समयभन्दा छोटो समयमै सुटिङ सक्ने रणनीति बनाएका छन् । सुटिङको समय छोट्याउँदा कलाकारको पारिश्रमिकदेखि दैनिक हुने खर्चसम्ममा भारी कटौती हुने सम्भावना हुन्छ । थोरै दिनको सुटिङ हुँदा कलाकारले थोरै पारिश्रमिकमा पनि खेल्न राजी हुन्छन् भने दिनदिनकै खर्च पनि आधा कम हुन्छ । सुटिङ सेटमा निर्माताले सामान्यतया ७० हजारदेखि १ लाखसम्म खर्च गर्छन् । 

नृत्य निर्देशकबाट निर्देशकमा बढुवा हुने तयारी गरिरहेका कविराज गहतराज आफूले २० दिन भित्रै सुटिङ सक्ने लक्ष्य लिएको बताउँछन् । उनको डेब्यु निर्देशन रहने फिल्म ‘मिरर’ मा उनले यही सर्तमा कलाकार तथा प्राविधिकलाई अनुबन्ध गरेका छन् । यो फिल्मको सुटिङ वैशाखको पहिलो साताबाट सुरु हुँदैछ । 

जेसन लोप्चनको निर्देशन रहने फिल्मको सुटिङ शनिबारबाट सुरु हुँदैछ । तर, उनको सुटिङ सेड्युल पनि २१ दिनको रहेको छ । निर्माण टिमले दिएको जानकारी अनुसार दुई सेड्युलमा सम्पन्न हुने फिल्मको पहिलो सेड्युल १४ दिनको रहेको छ भने दोस्रो सेड्युल ७ दिनको । जेसनले फिल्मको नाम र कलाकार केही दिनपछि सार्वजनिक गर्ने बताएका छन् । 

छोटो सेड्युलमा सुटिङ, नेपाली निर्माता÷निर्देशकले हिड्नै पर्ने बाटो हो खासगरि, सानो बजार भएको नेपालको सन्दर्भमा । तर, नेपाली निर्माताहरू बजारको आकार नबुझी धेरै दिन सुटिङ गर्ने मात्र होइन,जथाभावी खर्च गर्ने नराम्रो बानीको सिकार पनि छन् । तर, थोरै समय सुटिङ गर्दैमा फिल्म राम्रो भइहाल्छ भन्ने ग्यारेन्टी चैं हुँदैन । यसले यो मोडल कति प्रभावकारी हुन्छ भन्ने थाहा पाउन चैं माथि उल्लेखित फिल्मको रिलिजसम्म पर्खनै पर्ने हुन्छ । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x