कला

यशराजले हललाई निःशुल्क फिल्म दिने

इकागज |
कात्तिक २४, २०७७ सोमबार १५:१२ बजे

मुम्बई: यशराज फिल्मले अघिल्लो महिना मात्र स्थापनाको ५० वर्ष पूरा गरेको छ । स्थापनाको स्वर्ण जयन्ती विभिन्न गतिविधि गर्दै मनाइरहेको कम्पनीले तिहारलाई लक्षित गरी आफूले बनाएका फिल्म हललाई विना शुल्क रिलिज गर्न दिने निर्णय गरेको छ । यशराज फिल्मले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ फिल्म वा पुराना फिल्म हललाई दिने निर्णय गरेको छ । 

यशराजले यही नोभेम्बर १२ देखि १९ सम्म ‘वीरजारा’, ‘रब ने बना दि जोडी’, ‘सुल्तान’, ‘मर्दानी’ जस्ता फिल्म हललाई विना शुल्क दिने निर्णय गरेको जनाएको छ । 
भारतमा लकडाउनपछि हल खुले पनि दर्शकको चाप देखिएको छैन । नयाँ फिल्म र ठूला स्टार भएका फिल्म रिलिज नहुँदासम्म हलमा दर्शकको चाप नदेखिने विश्लेषकहरूले बताउँदै आएका छन् ।


हिन्दी फिल्मका लागि सबैभन्दा ठूलो बजार  मानिने महाराष्ट्रले गत शुक्रबारदेखि हल खोल्ने अनुमति दिएको थियो । लामो समयसम्म हल नखुलेपछि धेरै फिल्मले ओटीटीको बाटो समातेका छन् । तिहारको अवसरमा आउँदो १५ तारिखमा रिलिज हुन लागेको ‘सुरज पे मंगल भारी’ लकडाउनपछि हलमा रिलिज हुन लागेको पहिलो ठूलो फिल्म हो ।

यो फिल्ममा मनोज बाजपेयी, दलजित दोसाँध, फातिमा साना सेख आदि कलाकारको अभिनय रहेको छ । सरकारले ५० प्रतिशत क्षमतामा हल चलाउन अनुमति दिएको भए पनि ठूला फिल्म रिलिज नभएसम्म नखोल्ने भन्दै धेरै मल्टिप्लेक्सले हल खोलेका छैनन् ।  


 


Author

थप समाचार
x