कला

चित्रको संसारमा आश्रिती

सुनीता साखकर्मी |
चैत २२, २०७७ आइतबार १०:२७ बजे

काठमाडौँ : गर्मीको महिना थियो । आश्रिती श्रेष्ठलाई पौडी खेल्न जान मन लाग्यो । शनिबार पौडी खेल्न जाने निधो भयो । पौडी खेल्न जान बुवा अबिन श्रेष्ठले स्वीमिङ कस्ट्युम, चस्मा, ट्युब किनेर ल्याइदिए ।
 
आश्रिती उत्साहित भइन् । राति त्यही कस्ट्युम लाएरै सुतिन् । तर बिहान उठ्दा त पानी पर्ला जस्तो पो भयो । अनि पौडी खेल्न जाने प्लान क्यान्सिल भयो । मौसमले नै साथ नदिएपछि आश्रितीले पनि जानै पर्छ भनेर जिद्दी गर्न सकिनन् । चुपचाप पढ्न लागिन् ।
 
एकछिनपछि अबिनले छोरीको ड्रइङ बोर्डतिर नजर लगाए । त्यहाँ आश्रितीले एउटा चित्र बनाएकी थिइन् । चित्रमा एउटी केटी उदास भएर उभिएकी थिइन् । आँखाबाट आँशु बगेको थियो । र ती केटीको जीउमा लेखिएको थियो– ‘आश्रिती’ ।

चित्र देखेर अबिनले छोरीलाई सोधे, ‘के बनाएको यो ?’ 


जवाफमा छोरीले भनिन्, ‘आश्रिती स्वीमिङ जान नपाएर रोएको !’ 

छोरीको जवाफ सुनेर अबिन छक्क परे । साथै खुसी पनि भए । 

‘स्वीमिङ गर्न जान नपाएपछि आश्रिती रुन पनि सकेन । जाउँ भनेर कर पनि गर्न सकेन,’ उनी सम्झन्छन्, ‘तर आश्रितीले आफ्नो मनको कुरा चित्रमार्फत् व्यक्त गरेको देख्दा अचम्म लाग्यो ।’ 
अबिन आफू पनि राम्रा कलाकार एवं कार्टुनिस्ट हुन् । उनकी पत्नी संगी पनि राम्रो कलाकार हुन् । आश्रितीले पनि कलाप्रति झुकाव र लगाव देखाएपछि दुवैजना खुसी छन् । छोरीलाई सपोर्ट गरिरहेका छन् । 

अबिन र संगीको प्रोत्साहनले आश्रितीलाई पनि आत्मविश्‍वास दिएको छ । त्यसैले ९ वर्षको उमेरमै आश्रितीले एकल कला प्रदर्शनी गरेकी छन् । बाल कथाको पुस्तकमा पनि आश्रितीले चित्र बनाएकी छन् ।
 
१८ वर्षीय समीर कोजुले लेखेको ‘करण र कार्टुन’ बाल कथाको कृतिमा आश्रितीका चित्रहरू छन् । वाङ्‍मय शताब्दीपुरुष सत्यमोहन जोशीले शनिबार बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा कृतिको लोकार्पण र आश्रितीको एकल कला प्रदर्शनीको उद्घाटन गरे । 

उद्घाटनमा जोशीले कलिला बालबालिकालाई कला र संस्कृतिको क्षेत्रमा सानैदेखि अग्रसर गराउनुपर्ने बताए । उनले भने, ‘सानैदेखि बुझेकाले ठूलो भएपछि राम्रो योगदान दिन सक्छन् । रुचि अनुसार छोराछोरीलाई काम गर्न दिनुपर्छ ।’


 
कार्यक्रममा सहभागीको प्रतिक्रियाले आश्रितीलाई थप उर्जा दिएको छ । हिजो दिनभर प्रदर्शनीको लागि स्टिकर टाँसेर थकाइ लागेको थियो उनलाई । उठ्नै मन लागेको थिएन । तर आज पाएको उर्जाले उनलाई खुसी बनाएको छ । अझै धेरै चित्र बनाउन मन लागेको बताउँछिन् उनी । भन्छिन्, ‘सुरुमा त थकाइ नि लागेको थियो, नर्भस पनि थिएँ । तर पछि नर्भस भइनँ । अब त भविष्यमा पनि कलाकार नै बन्न मन छ ।’
  
प्रदर्शनीमा आश्रितीका मानव आकृतिका चित्रहरू धेरै राखिएका छन् । प्राय चित्र उनले लकडाउनको बेला बनाएकी हुन् । लकडाउनमा स्टुडियोमा बुवाआमाले गरिरहेका काम नियाल्ने मौका पाइन् । उनलाई मानिस जस्ताको तस्तै बनाउन आउँदैनथ्यो, मानवीय आकृति झल्किने खालका मात्रै चित्र बनाउन आउँथ्यो । त्यस्तै कम्प्युटर पनि उनलाई चलाउन आउँदैनथ्यो । 

लकडाउनमा आमा र बुवाको गतिविधिलाई नजिकबाट नियालिन् । रंगहरूको संयोजन गर्न सिकिन् । चित्रमा पनि निखारता ल्याउन सिकिन् । उनी भन्छिन्, ‘मलाई त चित्र बनाउन पाउँदा खुसी लाग्छ । बाबा, ममीले मलाई यसरी गर्ने, उसरी गर्ने भनेर गाइड गर्नुभयो ।’
 
अबिनलाई छोरीको कला प्यासन देखेर अचम्म लाग्छ । उनलाई त छोरीले नाचगानमा पनि भाग लिइदिए हुन्थ्यो जस्तो लाग्छ । किनकि लकडाउनको समयमा अनलाइन कक्षा हुँदा आश्रितीका साथीहरू गीत गाउँथे, नाच्थे । तर आश्रिती जहिल्यै पनि चित्रका कुरा गर्थिन्, जोक भन्थिन् । अबिनलाई छोरीले राम्रो नाचीदिओस् भन्‍ने लाग्थ्यो । तर आश्रितीलाई नाचगानमा रुचि भएन । उनी भन्छन्, ‘छोरीले नाचगान गरिदिओस् भनेर नहुने रहेछ, छोरीको कलातिर रुचि भएकाले हामीले उनलाई रोकेनौँ ।’
 
उनी सम्झन्छन्, ‘एकदिन संगीले क्यानभासमा चित्र बनाउँदै थिइन् । अनि आश्रितीले पनि चित्र कोर्न क्यानभास मागिन् । संगीले ‘क्यानभास महंगो छ, कागज जस्तो कहाँ हुन्छ’ भनेपछि आश्रितीले पिगी बैंकको पैसा निकालेर ल्याइन् अनि ‘एउटा क्यानभास दिनु’ भनेर मागिन् । पैसा भन्दा पनि क्यानभास ठूलो भएको देख्दा खुसी लाग्यो ।’
 
छोरीको चित्रसम्बन्धी प्यासन त अबिनले आश्रिती मन्टेश्‍वरीमा जान थालेदेखि नै देखेका थिए । आश्रितीले मन्टेश्वरीमा शिक्षकले सिकाएका कुरा घर आएर आमाबुवालाई सिकाउने गर्थिन् ।

पढाउन सजिलो होस् भनेर अबिनले आश्रितीको लागि ह्वाइट बोर्ड किनिदिए । मन्टेश्‍वरीमामा सिकेको कुरा बेलुका आमाबुवालाई सिकाउनुपर्छ भनेर उनले सिक्न मेहनत गर्न थालिन् । त्यहाँ अक्षरसँगै चित्र पनि बनाउन सिकाउँथे शिक्षक । आश्रितीले पनि शिक्षिकाले सिकाएका चित्रहरू सम्झेर आउँथिन् । घरमा बनाएर बुवाआमालाई सिकाउँथिन् । 

‘हामीले यस्तो गर्नुपर्छ भनेर सिकाएको थिएन, उनी आफै यसतर्फ आकर्षित भइन्,’ अबिन भन्छन्, ‘कला क्षेत्रको भित्रीपक्षको भुक्तभोगी म पनि हुँ । मैले जति संघर्ष गरे, त्यसको संरचनात्मक लाभांश केही छोरीले पाउला । त्यसले केही सजिलो बनाउला तर यसो भन्दैमा मेहनत नगरी फल पाइन्छ भन्ने होइन । छोरीले पनि नाम र काम कमाउन आफैले कडा मेहनत गर्नुपर्छ । हामी उसलाई साथ दिन्छौँ ।’
 
उनको चित्रकला देखेर बाल साहित्य प्रतिष्ठान नेपालले बालकथामा चित्र बनाउने अफर गरेका थिए । थुप्रै कथामध्ये अबिनले ‘करण र कार्टुन’ कथा रोजे । त्यसपछि अबिनले आश्रितीलाई सुनाए । आश्रिती पनि ‘एक्साइटेड’ भइन्  । उनले सोचेकी थिइन्– १०/१२ वटा चित्र त एकै छिनमा बनाइहाल्छु । 

तर किताबको लागि चित्र बनाउनु सहज थिएन । सुरुमा अबिनले करण पात्र र उनको कोठालगायतको चित्रण गर्न लगाए । त्यो त आश्रितीले एकै छिनमा बनाइन् । तर, ढाँचा काँचा मिलेन । अनि अबिनले उनलाई ठूलो चित्र बनाउन लगाए । त्यसपछि त एउटा चित्र बनाउनै उनलाई दुई दिन लाग्यो । अबिन भन्छन्, ‘त्यसपछि स्क्यान गर्न, ट्रेस गर्न, रंग लगाउन लगाएँ । महिना दिन लगाएर चित्र तयार भयो । आश्रितीले पनि किताब बनाउन गाह्रो रहेछ भन्‍ने थाहा पाइन् ।’
 
झन्डै एक महिना लगाएर उनले चित्र तयार पारिन् । आश्रितीका १० चित्र ‘करण र कार्टुन’मा छापिएका छन् । कृति बाल साहित्य प्रतिष्ठानले छापेको हो । 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x