कला

लक्ष्मी बर्देवाले पनि छोडिन् ‘घिन्ताङ’

इकागज |
चैत २४, २०७७ मंगलबार १२:२ बजे

काठमाडौं :  पुराना निर्देशक दीपक श्रेष्ठको कमब्याक भनिएको चलचित्र ‘घिन्ताङ’बाट लक्ष्मी बर्देवाले पनि हात झिकेकी छिन् । उनले डेट जुधेका कारण आफूले फिल्म छाडेको जानकारी इकागजलाई गराएकी छिन् । 

‘घिन्ताङ’बाट हात झिक्ने लक्ष्मी दोस्रो अभिनेत्री हुन् । यसअघि एलिजा गौतमले पनि उनको बुबाको स्वास्थ्यको कारण देखाउँदै फिल्म नखेल्ने निर्णय गरेकी थिइन् । एलिजा गौतमले छाडेका ठाउँमा निर्देशक दीपक श्रेष्ठले लक्ष्मीलाई अनुबन्ध गरेका थिए । 


लक्ष्मी यो फिल्मको मुहूर्तमा पनि सहभागी भएकी थिइन् । सरस्वती पूजाको अवसर पारेर यो फिल्मको कमलादी गणेशस्थानमा पूजाआज गरिएको थियो । पूजाआजा गरेसँगै यो फिल्मको सुटिङ शुक्रबारबाट सुरु हुने जानकारी गराइएको थियो । तर, सुटिङको अघिल्लो दिन नै दीपक श्रेष्ठले कोरोना पोजेटिभ भएको सूचना सार्वजनिक गरेका थिए । 

लक्ष्मीले अहिले ‘घिन्ताङ’ र आफूले पहिले नै साइन गरिसकेका प्रोजेक्टको समय जुधेकाले आफूलाई ‘घिन्ताङ’ छाड्ने निर्णय गरेको बताइन् । 
‘भनेको समयमा सुटिङ नभएपछि मेरो समय जुध्यो । मैले घिन्ताङ छाड्ने निर्णय गरेँ,’ लक्ष्मीले भनिन् । लक्ष्मीले गत शनिबारबाट कार्मको जोडीको रुपमा ‘अनन्त’को सुटिङ सुरु गरेकी छिन् । 

‘घिन्ताङ’मा गौरव पहारी र लक्ष्मीले मुख्य भूमिकामा अभिनय गर्ने कुरा थियो । तर, लक्ष्मीले छाडेपछि निर्देशक श्रेष्ठले नीता ढुंगानालाई लिएर सुटिङ सुरु गर्न लागेको स्रोतले बताएको छ । 


Author

थप समाचार
x