कला

७२ वर्षीया भानादेवीको चित्रकला, वाल पेन्टिङमा अझै सक्रिय

इकागज |
साउन ७, २०७९ शनिबार १७:१५ बजे

बैतडी- बैतडीको सुर्नया गाउँपालिका-२ की भानादेवी चन्द ७२ वर्षकी भइन् । उनी अझै पनि मन्दिर, सार्वजनिक स्थल तथा घरहरूमा पेन्टिङ गरिरहेकी भेटिन्छिन् । 

भानादेवी भगवानका फोटो र आफूले देखेका सबै वस्तु दुरुस्तै चित्रमा उतार्न सक्छिन् । उनले अहिलेसम्म दुई हजारभन्दा बढी चित्र कोरेको सुनाइन् । बाल्यकाल मै पेन्टिङको काम सुरु गरेको उनले बताइन् । उनी एकपटक देखेको कुरा नहेरेरै जस्ताको तस्तै चित्र बनाउन सक्छिन् ।


माइतीघर भारतको धार्चुलामा कक्षा ५ सम्म अध्ययन गरेकी उनले १० वर्षको उमेरदेखि चित्र बनाउन सुरु गरेकी हुन् । 

भानादेवीका चित्रकला बैतडीदेखि काठमाडौँसम्मका सार्वजनिक स्थल तथा घरमा रहेको उनका छोरा नरेन्द्रले बताए । उनले भने, ‘आमा फुर्सदको समयमा पेन्टिङ गर्नुहुन्छ । उहाँले बैतडीदेखि काठमाडौँसम्मका भित्ताहरू फोटोले रङ्गाउनुभएको छ । उहाँले कोर्न खोजेका चित्र एक पटक हेरे मात्रै पुग्छ । उहाँसँग राम्रो क्षमता छ । केही ठाउँमा पुरस्कृत समेत हुनुभएको छ । उहाँले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको काठमाडौंस्थित घरमा पनि विभिन्न चित्र कोर्नुभएको छ ।’ 

भानादेवी चित्रकलाबाट स्थानीय स्तरमा परिचित भए पनि प्रतियोगिताहरूमा भने खासै सहभागी हुने अवसर पाएकी छैनन् । उनले कुनै चित्रहरूको मूल्य राख्ने गरेकी छैनन् । कसैले स्व इच्छाले दिएको रकम र रङ खरिद गर्दाको पैसाबाहेक पारिश्रमिक नलिने गरेको चन्दको भनाइ छ ।

गाउँ ठाउँका कसैले पेन्टिङका लागि आग्रह गरेमा त्यहाँ पुगेर चित्र कोरिदिने गरेको चन्दले सुनाइन् । आफूसँग भएको सीप अरूलाई सिकाउन नपाउँदा चन्द चिन्तित देखिन्छन् । साथै, पछिल्लो समय चित्रकलाप्रति युवापुस्ताको ध्यान जान नसक्नु दुःखद् भएको उनको भनाइ छ । न्युज कारखाना


Author

थप समाचार
x