कला

‘माइतीघर २’ बनाउँदै भुवन केसी, पहिलोपटक पर्दामा बाबु–छोराको जोडी !

इकागज |
चैत २६, २०७७ बिहीबार १४:१२ बजे

काठमाडौं : अनमोल केसी र भुवन केसीलाई पर्दामा धित मर्नेगरि हेर्ने दर्शकको चाहाना अब भने पूरा हुने भएको छ । होम प्रडक्सनको ब्यानरमा बन्ने फिल्म ‘माइतीघर २’मा भुवन केसी र अनमोल केसी एक साथ देखिन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ । 

‘पारस’ बनाउने अन्तिम तयारी चलिरहँदा भुवन केसीले अचानक ‘माइतीघर २’ चलचित्र विकास बोर्डमा दर्ता गराएका हुन् । योसँगै भुवन केसीले ‘पारस’ होल्ड गरेर ‘माइती घर २’ बनाउन लागेका हुन् । तर, भुवन केसीले इकागजसँगको कुराकानीमा ‘पारस’ वा ‘माइतीघर’ मध्ये कुन फिल्म पहिला सुटिङमा जाने टुंगो नभएको बताए । 
‘हो, सुपरकाजल फिल्मले माइतीघर २ पनि बनाउँछ तर कुन फिल्म पहिलो फ्लोरमा जान्छ निधो गरिसकेका छैनौं,’ उनले भने ।  ‘माइतीघर २’ चैतबाट सुटिङमा जाने योजनामा थियो । तर, अनमोल केसीले गर्ने कि नगर्ने निर्णय गर्न नसक्दा  यो फिल्मको सुटिङ त्यो मितिमा सुरु हुन सकेको थिएन ।


तस्बिर सौजन्य : अर्जुन शाह

यसैबीचमा निर्माण टिमले पल शाहलाई लिएरसमेत यो फिल्म गर्ने तयारी गरेको थियो तर त्यता पनि कुरा नमिले पछि फेरि प्रोजेक्ट भुवन केसी र अनमोल केसीको पोल्टामा परेको थियो । भुवन केसीले निर्माणसमेत आफैं गर्ने गरी प्रोजेक्टको काम अगाडि बढाएका थिए । 

फिल्ममा पहिलाको ‘माइतीघर’का मुख्य कलाकार सिपी लोहनी र माला सिन्हालाई समेत कलाकार लिने गरी निर्माण टिमले कुरा अगाडि बढाएको थियो । तर, स्वास्थ्यका कारण दुवैले फिल्म गर्न अस्वीकार गरेको खबर छ । यसपछि निर्माण टिमले मनीषा कोइरालालाई समेत प्रस्ताव गरेको थियो ।

तर, मनीषाले पनि फिल्ममा काम गर्न सहमति दिइसकेकी छैनन् । यता अर्को भूमिकाका लागि भने निर्देशकले भुवन केसीलाई नै खेल्ने प्रस्ताव गरेका छन् र भुवन केसी पनि यो पटक अनमोलसँग स्क्रिन सेयर गर्न उत्सुक छन् ।

उनले इकागजसँगको कुराकानीमा भूमिका आफू सुहाउँदो रहेको स्वीकारे पनि फाइनल कास्टिङ टुंगो नलागुन्जेल यो विषयमा यसै भन्न नसकिने बताएका छन् । अनमोल र भुवनले ‘साथी म तिम्रो’ र ‘होस्टल’ एक साथ काम गरेका छन् । तर, ‘साथी म तिम्रो’मा अनमोलले केमियो गरेका थिए भने ‘होस्टल’मा भुवन केसीले । 

 


Author

थप समाचार
x