कला

महाकवि गिरिजाप्रसाद जोशीद्वारा लिखित खण्डकाव्य ‘हेल्चा’को लोकार्पण

इकागज |
चैत २६, २०७७ बिहीबार १९:२६ बजे

काठमाडौँ  : नेपालभाषा साहित्यका प्रगतिवादी महाकवि गिरिजाप्रसाद जोशीद्वारा लिखित खण्डकाव्य ‘हेल्चा’को लोकार्पण भएको छ । जोशीको ८३ औँ जन्मजयन्तीको अवसरमा शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘गिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्वका विविध आयाम विषयक विचार-गोष्ठी’मा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति जगमान गुरुङ, साहित्यकार नारायण ढकाल, पूर्ण ताम्राकार लगायतले कृतिको लोकार्पण गरेका हुन् । 

प्रतिष्ठानका कुलपति उप्रेतीका अनुसार नेपालमा रहेका एउटा भाषाको अवस्था के छ भनेर बुझ्न अर्काे भाषीलाई गाह्रो भएकाले नै प्रतिष्ठानले अनुवादको कामहरू गर्दै आएको बताए । आज लोकार्पित पुस्तक ‘हेल्चा’को पनि अनुवाद गराउन  उनले साहित्य(मातृभाषा) विभाग प्रमुख लक्ष्मी मालीलाई अनुरोध समेत गरे साथै अनुवादमा लाग्ने खर्च प्रतिष्ठानले व्यहोर्ने समेत जनाए ।


त्यस्तै उपकुलपति जगमान गुरुङका अनुसार कुनै पनि भाषा साहित्यको उत्थानको लागि समुदाय र राष्ट्र दुबै सक्रिय हुनुपर्छ । प्रतिष्ठानले जोशीको कृतिको लोकार्पण र त्यसमाथि चर्चा गरेर कर्तव्य कर्म पुरा गरेको समेत जनाए ।त्यस्तै कार्यक्रममा कवि शरद कसाःले जोशीको व्यक्तित्व र कृतित्वको व्यक्तित्व र कृतित्वको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कसाःका अनुसार कवि जोशी जो सुकै व्यक्ति भेटे पनि आफ्नो भाषा छोड्न नहुने र जीवित राख्नुपर्ने बताउँथे ।

‘नेपाल भाषामा लेखिएका महाकाव्य धेरै छैनन् । जति लेखिएका छन्, ति कुनै बुद्ध धर्ममा आधारित छन् त कुनै कला सिर्जनामाथि लेखिएका छन्,’ उनले भने, ‘यी सबैभन्दा अलग गिरिजाप्रसादले लेखेको ‘ल्वहंमा’ छ । यसमा आजका मानिसका कथा छन् । नौवटा सर्गमा लेखिएको यो महाकाव्यमा आम मानिसको भोगाई छ । पीडा छ । छट्पटी छ । अनि यसबाट मुक्तिको चाहना र मार्ग पनि छ । त्यसैले उनलाई प्रगतिशिल आधुनिक महाकविको रुपमा चिनिन्छ ।’ 

जोशीका कविता, गीत, उपन्यास, नाटक आदि साहित्यका विविध विधाको कूल ३८ वटा कृति प्रकाशित भइसकेका छन् । जोशीले ४९ वर्षको अल्पायुमै पनि ७० बढी पुस्तक लेखेको उल्लेख गर्दै कसाःले भने, ‘आधाभन्दा बढी पुस्तक यताउता नोक्सान भएको देखिन्छ ।’ 

कार्यक्रममा कसाःको कार्यपत्रमाथि समीक्षा गर्दै साहित्यकार पूर्ण ताम्राकारले विभिन्न पेशा अंगालेर जहाँ पुगे पनि जोशीले नेपालभाषालाई नछोडेको बताए । त्यस्तै साहित्यकार नारायण ढकालका अनुसार जोशीले आफुलाई माक्‍सवादी भन्दैनथे, तर जोशीको रचनामा घनघोर माक्‍सवाद देखिन्थ्यो । उनले भने, ‘ उहाँ प्रश्न उठाउनुहुन्थ्यो । प्रश्‍व उठाउनु नै सच्चा माक्‍सवादी हो । जोशीको समालोचनात्मक चेत निकै बलियो थियो ।’ 

कार्यक्रममा जोशीद्वारा सिर्जना गरिएको गीत किरण साय्मिले गाएका थिए भने कविहरू कृष्णभक्त बोडे, नारद बज्राचार्य, रजनी मिला, रमेशकाजी स्थापित, सुरजबीर बज्राचार्यले कविता वाचन गरे । साथै जोशीका विद्यार्थी राजदास श्रेष्ठले भक्तपुरको विराट गुठीलाई ८३ हजार रूपैयाँ समेत हस्तान्तरण गरेका थिए । 


Author

थप समाचार
x