आजबाट देशभरका १ सय बढी पर्दामा सन्दीप र वर्षाको ‘श्री’
काठमाडौं : सबैभन्दा कम समयमा सुटिङ गरिएको दाबी गरिएको फिल्म ‘श्री’ आजबाट रिलिज भएको छ । वितरक करण श्रेष्ठले फिल्म देशभरका १ सयभन्दा बढी पर्दामा रिलिज हुने जानकारी गराएका छन् ।
सूर्य बोहरा निर्देशित यो फिल्म ७२ घन्टामा खिचिएको बताइएको थियो । निर्देशक बोहराले बागबजारको एउटा घरमा फिल्मको सम्पूर्ण सुटिङ सकाएको जानकारी गराएका थिए । फिल्मले लकडाउनमा फँसेको एउटा चरित्रको कथा पेस गर्छ । फिल्मको शीर्ष भूमिकामा सन्दीप श्रेत्रीले अभिनय गरेका छन् । उनले ‘श्री’ मा आफ्नो कमेडी इमेजभन्दा भिन्न चरित्रमा अभिनय गरेको बताएका थिए ।
‘मैले अहिलेसम्म अभिनय गरेको फिल्महरुमध्ये ‘श्री’ उत्कृष्ट छ । मैले मेरो सन्तानलाई पनि तिम्रो बाबुको फिल्म हो भनेर गर्वका साथ देखाउन सक्छु,’ उनले भने, ‘त्यस्तो विषम परिस्थितिमा पनि सूर्य दाइले आँट गरेर फिल्म बनाउनु भयो । अहिले यस्तो अबस्थामा करणजीले प्रदर्शन गर्दैहुनुहुन्छ । यसमा मलाई निकै गर्व लागेको छ ।’
चैत २७ मा रिलिज हुने घोषणा गरी ट्रेलरसमेत सार्वजनिक गरेका फिल्म कोरोना भाइरसको कारण देखाउँदै सरेपछि ‘श्री’ मैदानमा देखिएको हो । यसअघि यो मितिमा प्रदर्शन हुने भनी घोषणा भएका ‘लप्पन छप्पन २’ र ‘कृष्णलीला’ अन्तिम समयमा आएर सरेका थिए ।
नयाँ वर्षलाई नेपाली निर्माताले फिल्म रिलिजका सबैभन्दा उपयुक्त मिति मान्दै आएका थिए । यो मितिमा कुनै हिन्दी चाडपर्व नपर्दा ठूला हिन्दी फिल्म रिलिज नहुने र यो मितिमा हलमा दर्शकको राम्रो चाप देखिने कारणले पनि नयाँमा फिल्म लगाउन निर्माता तँछाडमछाड गर्थे ।
तर, पूर्व रिलिज कुनै हिन्दी फिल्ममा पनि दशर्शक नदेखेपछि नेपाली निर्माता यो सालको नयाँ वर्ष माया मार्ने निर्णयमा पुगेका थिए । तर, यो साल रिलिज हुने फिल्मले शुक्रबार र शनिबारबाहेक आइतबार र मंगलबारको पनि बिदा खान पाउँथे । आइतबार सरकारले घोडे जात्राको बिदा दिएको छ भने मंगलबार नयाँ वर्षको बिदा हो ।
‘श्री’ मा सन्दीप क्षेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासीका कार्कीले अभिनय गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया