कला

‘पारस’ र ‘हिमानी’ थाँती राखेर ‘विवेक’ बनाउँदै माधव वाग्ले, मुख्य भूमिकामा बिपिन र स्वस्तिमा

इकागज |
चैत २७, २०७७ शुक्रबार १६:१९ बजे

काठमाडौं : पूर्व घोषित दुई फिल्मबाट पछि हट्दै माधव वाग्लेले नयाँ फिल्म बनाउने तयारी सुरु गरेका छन् । उनले बिपिन कार्की र स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा अनुबन्ध गर्दै ‘विवेक’ नामको फिल्म बनाउने लागेका हुन् । उनले अर्को एउटा भूमिकाका लागि प्रकाश घिमिरेलाई लिने निर्णय गरे पनि बाँकी कलाकार अडिसनबाट छान्ने जानकारी गराएका छन् ।

यही उद्देश्यका लागि भोलि जनकपुरमा अडिसन हुँदैछ । यही फिल्मबाट निर्देशनमा हामफाल्न लागेका वाग्लेले ३० गते वीरगन्जमा पनि अडिसन हुने र यसबाट छानिएका कलाकारले अभिनय गर्ने जानकारी गराएका छन् । 


उनले कथाको सेटिङ तराई भएको जानकारी गराउँदै फिल्म नेपाली र विदेशी बजार दुवैलाई लक्षित गरी बनाउन लागेको जानकारी गराए । उनले इकागजसँग कुराकानी गर्दै भने, ‘ म तराईको मान्छे हुँ । यहाँको भाषा, संस्कृति सबैसँग राम्ररी परिचित छु । त्यसैले यो पटक यहीँको कथामा काम गर्न लागेको हुँ । यसलाई नेपालसँगै विदेशी फेस्टिभलमा पनि पठाउने योजना छ ।’

उनले तराईमा विद्यमान विकृतिलाई कथानकको रुपमा प्रस्तुत गर्न लागेको पनि जानकारी गराएका छन् । बाग्लेले ‘पारस’बाट फिल्म निर्देशनमा डेब्यू गर्न लागेको चर्चा थियो । भुवन केसीसँगको साझेदारीमा बन्ने भनेर समाचारमा आएको यो फिल्मबाट वाग्लेले हात झिकेका थिए ।

पछि उनले ‘हिमानी’नाममा फिल्म दर्ता गरेका थिए । तर, उनले यसको तयारी सुरु नगर्दै ‘विवेक’को सुटिङ गर्न लागेका हुन् । उनले ‘हिमानी’का लागि तयारी नपुग्ने भएका कारण अर्को फिल्म गर्न लागेको बताए ।

‘हिमानी’ अलि स्टाइलिस फिल्म हो । यसका लागि निकै तयारी बाँकी रह्यो । अब यो फिल्म सकेपछि त्यसको काम हुन्छ,’ उनले भने । निर्माताको रुपमा वाग्लेले ‘लुट’, ‘फस्ट लभ’, ‘लभ सासा’ ‘रेसम फिरिरी’ आदि फिल्म निर्माण गरेका छन् । 

वाग्लेले घोषणा गरेका तीनै फिल्ममा रमाइलो संयोग के छ तीनै फिल्म राजदरबारसँग जोडिएका छन् । ‘पारस’ र ‘हिमानी’ त भइहाले त उनले बनाउन लागेको ‘विवेक’ पनि राजदरबारको सचिव विवेक कुमार शाहसँग दुरुस्त मिल्छ । विवेककुमार शाहले लेखेको पुस्तक ‘मैले देखेको दरबार’ निकै नै चर्चित भएको थियो । 


Author

थप समाचार
x