कला

भुवन केसी : फिल्म घोषणा गर्ने थन्क्याउने, अनमोल केसी : साइन गर्ने, छाड्ने

इकागज |
चैत २७, २०७७ शुक्रबार १७:४५ बजे

काठमाडौं :  निर्माताको रुपमा भुवन केसी र कलाकारको रुपमा अनमोल केसी उद्योगका एक नम्बर नाम हुन् । भुवन केसी व्यवसायिक फिल्म बनाउन सबैभन्दा अगाडि छन् । कलाकारको रुपमा अनमोल केसी बाबु बराबर नै हुन् । तर, दुवैमा एउटै समस्या छ, हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने ।

दुवैजना आफ्नो निर्णयमा लामो समय टिक्न सक्दैनन् । सबैभन्दा पहिलो भुवन केसीको कुरा गरौं । भुवन केसीले ‘क्याप्टेन’पछि बनाउने भनेर घोषणा गरेको फिल्म थियो, ‘एन्टि हिरो’ । क्रिएटिभ टिम नै भारतबाट आउने घोषणा गरेका भुवनले यसका लागि हिरोइनमा जसिता गुरुङलाई साइन नै गरेका थिए ।


तर, यो फिल्म चटक्कै छाडेर भुवन केसी ‘पारस’ बनाउन लागे । भुवन केसीले ‘पारस’ बनाउने तयारी सुरु गरेको दुई वर्ष पुग्न लागेको थियो । यसका लागि पनि हिरोइन फाइनल छिन् तर अन्तिम समयमा आएर भुवन केसी ‘पारस’ हैन ‘माइतीघर २’ बनाउने मुडमा छन् ।

‘पारस’ झैं यो फिल्म पनि अनमोललाई खेल्नका लागि मात्र अफर गरिएको थियो तर भुवन केसीलाई यसको कथा मनपरेपछि उनले आफैंले बनाउने गरी यसलाई दर्ता गरे । थाहा छैन भोलि यो फिल्म सुटिङमा जान्छ कि यही बीचमा भुवन केसीले अर्को फिल्म बनाउने घोषणा गर्छन् । 

अहिले मात्र होइन ‘ड्रिम्स’ बनाउनु अघि पनि भुवन केसीले कहिले ‘ड्रिमगर्ल’ कहिले ‘तिमी नभए’ बनाउने घोषणा गरेका थिए । उसबेला बल्लतल्ल ‘ड्रिम्स’ बनेको थियो । अहिले पनि घोषणा गर्ने र थन्क्याउने बानी गएको छैन । 

यता अनमोल पनि पिता भुवन केसी झैं आफ्नो निर्णयमा टिक्न नसक्ने इतिहास बनाइरहेका छन् । फिल्म साइन गर्छन् तर केही समय पछि नै छाडछन् । 
यो पनि ‘ड्रिम्स’ बन्नु अघिको कुरा हो । अनमोलले ‘जेरी’ रिलिज अगावै हेमराज बिसीको ‘ग्याङस्टर ब्लुज’ साइन गरेका थिए । यसका लागि एडभान्स पनि लिइसकेका थिए तर उनले ‘ड्रिम्स’ छानेर ‘ग्याङस्टर ब्लुज’ छाडे ।  

मिलन चाम्सको ‘ब्याचलर बन्टी’ छाडेको त राम्र्रै हल्लाखल्ला भयो । यो फिल्मका लागि पनि उनले लिएको एडभान्स रकम फिर्ता गरेका थिए । अनमोलले साइन गरेर पनि अन्तिम समयमा छाडेको फिल्ममा ‘धुपौरे’ निकै चर्चित रह्यो । चर्चित यसकारण कि यो मुद्दा प्रहरीसम्म पनि पुग्यो ।

अनमोलले धेरथोर हर्जाना तिरेर बल्ल बल्ल यो केस सेटल गरे । भुवन केसी फिल्म घोषणा गर्ने अनि नबनाउने, उता अनमोल फिल्म साइन गर्ने अनि छाड्ने । अरुलाई बाटो देखाउने पर्ने भुवन केसी र अनमोल केसी आफैं अनप्रोफेसनल भएपछि  अरुले के सिक्ने ?


Author

थप समाचार
x