कला

‘संसारका सुन्दर सिनेमा ती हुन् जसले मान्छेलाई कुरूप देखाएका छन्’

इकागज |
कात्तिक २५, २०७७ मंगलबार ११:८ बजे

सिनेमाको उद्देश्य मनोरञ्जन मात्र होइन भनेर भनेर पैरवी गर्ने निर्देशकमध्येमा पर्छन् मनोज पण्डित । यही मान्यतामा रहेर उनले फिल्म बनाउने गरेका छन्, बहस र छलफल चलाउने गरेका छन् । लकडाउनको फुर्सदले उनलाई यो विचारलाई अझ परिपक्व बनाउने समय दियो ।

नेपाली फिल्मको वर्तमान अवस्था  हेर्दा महसुस भयो, यो बुझाइ  फिल्म बनाएर मात्र परिवर्तन हुन्न ।  चौतर्फी रुपमा यो कुराको वकालत गर्नुपर्छ । उनले खेस्रा गरेर कतै थन्क्याएका कागजपत्र निकाले र लकडाउनकै बीचमा अन्तिम रुप दिए । लकडाउनमा गोडमेल गरेका तिनै कागजपत्र मंगलबारबाट ‘सिनेमा मन्थन’को रुपमा बाहिर आएका छन् । मनोज पण्डित आफ्नो यो किताब कुनै पनि कला सिर्जनाका लागि ‘ब्लु प्रिन्ट’को रुपमा काम गर्ने दाबी गर्छन् ।


‘पुस्तकको केन्द्रमा सिनमा छ । तर, मैले पुस्तकमा जेजति कुराहरू उठाएको छु त्यो साहित्यका अरु विधामा लेख्नेलाई पनि उत्तिकै काम लाग्ने छ,’ मनोज भन्छन् । उनले सिनेमालाई प्राविधिक कुराको रुपमा मात्र बुझ्दा नेपाली सिनेमाले अपेक्षित प्रगति गर्न नसकेको निष्कर्ष निकालेका छन् । त्यसका लागि सिनेमालाई विचार र सौन्दर्यको सेतुको रुपमा प्रस्तुत गर्नु पर्नेमा मनोज दृढ छन् । तर, यो काम फिल्म बनाएर मात्र सम्भव नहुने रैछ भन्ने उनलाई लागेको छ ।

मनोज भन्छन्,‘सिनेमा क्षेत्रको विकासका लागि  सिनेमाको संख्या बढेर मात्र नहुने रैछ । दर्शकको चेतना निर्माणमा पनि काम गर्नुपर्नेरैछ । सिनेमा मन्थन यसैको प्रयास हो । सिनेमाका आधारभूत तत्वको खोजी, विश्लेषण र संश्लेषण केन्द्रित यो किताबले सिनेमालाई मानवीय दृष्टिकोणबाट बुझ्न मद्दत गर्छ ।’

मनोजका अनुसार उनले संसारभरका राम्रा सिनेमा हेर्दा एउटा कुरा समान पाए । त्यो के भने संसारका सबै राम्रा सिनेमाले नराम्रो मान्छेको कुरा गर्ने रहेछन् । उनले पुस्तक भित्र सिनेमा निर्माण गर्दा ख्याल गर्नुपर्ने यिनै मान्छेको चरित्र चित्रणको तजबिजका बारेमा कुरा गरेका छन् ।

‘मान्छेलाई सबैभन्दा ठूलो खतरा मान्छेबाटै रहेछ । संसारका हरेक राम्रा सिनेमा हेर्दा मैले यही निष्कर्ष निकालें,’ मनोज भन्छन्, ‘त्यसैले हाम्रो सिनेमामा पनि यस्तै कमजोरीसहितका मानिसको कुरा आउने हो भने रोचक हुन सक्छ । पुस्तक मैले यही सत्यलाई केन्द्रमा राखेर तयार गर्ने प्रयास गरेको छु ।’

पुस्तकमा उनले सिनेमा निर्माणका लागि अनिवार्य तत्व मानिने कथा, पात्र, संघर्ष, सम्बन्ध, संरचना आदि विषयलाई समेटेका छन् । इन्डिगो इंकले प्रकाशन गरेको पुस्तक मंगलबारदेखि बजारमा आएको छ ।


Author

थप समाचार
x