कला

कोशी सन्धिकर्ता कोइरालाको ‘कोशीको कथा’

इकागज |
कात्तिक २५, २०७७ मंगलबार १४:९ बजे

काठमाडौं : पब्लिकेसन्स नेपालयले आफ्नो क्लासिक्स् शृंखला अन्तर्गत् २०२० मा मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह ‘कोशीको कथा’ लाई नयाँ कलेबरमा प्रकाशित गरेको छ । प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले बिसं २०४६ मा प्रथम पटक प्रकाशित गरेको यो पुस्तक लामो समयदेखि बजारमा उपलब्ध थिएन ।

लेखक मातृकाप्रसादका छोरा लेखक कमल कोइरालाले पुस्तक पुनः पाठकमाझ आउन लागेकोमा खुशी व्यक्त गरेका छन् ।  ‘यो किताब केहि समयदेखि बजारमा उपलब्ध थिएन । केही दशकपछि पुस्तकले पाठकसामु आउने बाटो भेटेकोमा मलाई एकदम खुशी लागेको छ,’ उनले भनेका छन् । यो पुस्तकले कोइराला परिवारको व्यक्तिगत निर्वासनका बारेमा खुलासा गर्छ । त्योभन्दा पनि महत्वपूर्ण यसले कोशी नदीको मानवशास्त्रीय पक्षलाई कोट्याउँदै नदी आसपासका बासिन्दाहरूको कथा भनेको छ । 


यस संग्रहका नौवटा निबन्धहरू कोशीको किनार आसपास घुम्छन् र यदाकदा भारतसम्म पुग्छन् जहाँ परिवारसहित राजनैतिक निर्वासनका बखत लेखकको बाल्यकालको महत्वपूर्ण समय गुज्रेको थियो । सात सालका क्रान्तिताका नेपाली कांग्रेसका ‘सुप्रीम कमाण्डर ’ तथा क्रान्तिपछिको गैर राणा सरकारको पहिलो प्रधानमन्त्री मातृकप्रसाद कोइराला सोभन्दा अगाडिदेखि नै साहित्यकारका रूपमा परिचित थिए ।

प्रस्तुत पुस्तक कोशी वा पौराणिक कौशिकी नदी वरिपरिका विषयवस्तु र जातिउपर लेखिएका निबन्ध तथा प्रबन्धहरूको सँगालो हो । कतै अन्वेषणात्मक त कतै निजात्मक शैलीमा लेखिएका यी कथ्यहरूले पुराण, विज्ञान, सामाजिक न्याय, राजनीतिदेखि लिएर, बिसं २०११ सालको कोशी सन्धि प्रकरणसम्मको विषयलाई समेटेका छन् ।

कोशी  सन्धि कोइरालाको राजनैतिक जीवनको सबैभन्दा विवादस्पद पाटो रह्यो । प्रवासमा होस् या स्वदेशमा, सधैं कोशी सन्निकट रहेका कोइरालाले यसको महत्ता र विभिषिका दुवै देखे । मातृकाप्रसाद कोइरालाद्वारा लिखित ‘कोशीको  कथा’, समाजशास्त्रीय तथा राजनैतिक हिसाबले पठनीय छँदै छ , भाषा र वाङ्मयका दृष्टिकोणले पनि ओजपूर्ण छ ।

नेपालयले  क्लासिक्स सिरिजअन्तर्गत् ब्रह्म शमशेरको ‘नेपालको महाभूकम्प’, लेखनाथ पौड्यालको ‘कवि शिरोमणि रचनावली’  र मंजुलको ‘सम्झनाका पाइलाहरू’ प्रकाशित गरिसकेको छ ।


Author

थप समाचार
x