कला

बाफ्टामा पनि ‘नोम्याडल्यान्ड’लाई ४ अवार्ड , आंग लीलाई फेलोसिप

इकागज |
चैत ३०, २०७७ सोमबार ११:५९ बजे

लन्डन :  भाग लिए जति अवार्डमा कुनै न कुनै अवार्ड जितेको ‘नोम्याडल्यान्ड’ले बेलायतको अस्कर मानिने बाफ्टा अवार्डमा पनि सर्वाधिक अवार्ड जित्दै अस्करको दाबेदारी बलियो बनाएको छ । ‘नोम्याडल्यान्ड’ले उत्कृष्ट फिल्मसँगै अभिनेत्री, निर्देशक र छायांकनमा अवार्ड जितेको हो । 

अवार्ड वितरण समारोहमा प्रस्तोता अल्बर्ट हलमा जम्मा भएका थिए भने  मनोनयनमा परेका फिल्ममेकर भर्चुअल्ली मात्र समारोहमा उपस्थित थिए । ‘नोम्याडल्यान्ड’पछि अवार्ड जित्नेमा चार फिल्म अगाडि रहे । एन्थोनी हप्किन्स अभिनीत ‘फादर’, इमराल्ड फनेल निर्देशित ‘प्रमिसिङ योङ वुमन’, पिक्सार निर्मित ‘सोल’,  दिवंगत अभिनेता चाडविक बेसनन अभिनीत ‘मा रेनी ब्ल्याक बटम’ले दुई दुई अवार्ड घर लगे । 


‘फादर’ले एन्थोनी हप्किन्सलाई उत्कृष्ट अभिनेताको अवार्ड दिलायो भने यही फिल्म एडोप्टेड पटकथामा पनि अवार्ड जित्यो । इमराल्ड फनेल निर्देशित ‘प्रमिसिङ योङ वुमन’ले भने सर्वोत्कृष्ट ब्रिटिश फिल्म र मौलिक पटकथा विधामा अवार्ड जित्यो । पिक्सारको एनिमेसन फिल्म ‘सोल’ले पनि मौलिक पाश्र्वसंगीत र एनिमेसन विधामा अवार्ड जित्यो । यसैगरि दुई अवार्ड जित्नमा ‘मा रेनी ब्ल्याक बटम’ पनि भाग्यमानी रह्यो । यो फिल्मले मेकअप एन्ड हेयर र कस्ट्युम डिजाइनमा एक एक अवार्ड जित्यो । 

बाफ्टामा ‘साउन्ड अफ मेटल’ बाट मनोनयनमा परेका एसियाली मुलका अभिनेता रिज अहमदलाई पनि दाबेदार मानिएको थियो । तर, एन्थोनी हप्किन्सले यो विधाको अवार्ड जिते । ‘मिनारी’ले एसियाली मुलका कलाकारको बिऊ जोगायो । यसबाट सहायक अभिनेत्रीमा मनोनयनमा परेकी  यु जुङ युनले सहायक अभिनेत्रीमा अवार्ड जितिन् । यु जुङ युन अस्करमा पनि सोही विधामा मनोनयनमा परेकी छिन् । 

शनिबार र आइतबार दुई दिन गरी बाँडिएको अवार्ड समारोहमा आङ लीलाई बाफ्टा फेलोसिप प्रदान गरिएको थियो । फ्रेब्रुअरीमा मनोनयन सार्वजनिक गर्दा बाफ्टालाई इतिहासकै समावेशी मनोनयन मानिएको थियो । अभिनय विधामा सार्वजनिक २४ मनोनयनमा १६ जना विभिन्न जात, रंग र क्षेत्रका कलाकार मनोनयनमा थिए । 
 


Author

थप समाचार
x