कला

‘गजनी’देखि ‘चक दे’सम्म, सलमानले छाडेका फिल्म जुन भए सुपरहिट

इकागज |
बैशाख ३, २०७८ शुक्रबार १५:१८ बजे

मुम्बई : उनकै उमेरका कलाकार चरित्र अभिनेतामा सिमित हुँदा पनि सलमान आज पनि आफूभन्दा दोब्बर कम उमेरका हिरोइनसँग रोमान्स गरिरहेका छैनन् । त्यति मात्र हैन, पछिल्लो समय सलमान अभिनीत कुनै फिल्म फिल्मले गतिलो व्यापार गरेका छैनन् तर पनि हलमा उनका फिल्मको प्रतीक्षा रहन्छ ।

औसत फिल्म खेलेर पनि स्टारडम कायम गर्ने अभिनेतामा पर्छन् सलमान खान । ‘मैंने प्यार किया है’ छाडेर सुुपरहिट भएका केही फिल्ममा उनले क्रेडिट पनि पाएनन् । ‘हम आपकै है कौन’ सलमान खानको जीवनको सबैभन्दा हिट फिल्म हो तर यो फिल्ममा सलमानको भन्दा ज्यादा चर्चा माधुरी दिक्षितको भएको थियो ।


‘वान्टेड’ पछि मात्र हो, सलमान एक्लैले फिल्म धान्न थालेको । तर, त्यसयता भने फिल्म जस्तो सुकै होस् सलमान उभिएपछि त्यो फिल्मको सय करोड ग्यारेन्टी । तर, ३२ वर्ष लामो फिल्मी करिअरमा सलमानले यस्ता केही फिल्मको अफर छाडेका जुन पछि गएर ट्रेन्ड सेटर भए ।

यसमा ‘गजनी’, ‘चक दे इन्डिया’ ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ आदि पर्छन् जुन सबैभन्दा पहिला सलमानलाई अफर गरिएका थिए तर उनले अस्वीकार गरेपछि अरु हिरोको पोल्टामा परेका थिए । सलमानले छाडेका केही फिल्म जो सुपरहिट मात्र भएनन्, माइलस्टोन भए । 
१. बाजीगर 
‘बाजीगर’ यस्तो फिल्म थियो जसले शाहरुख खानलाई रातारात स्टार बनायो । तर, यो फिल्म शाहरुखले गर्नुभन्दा पहिला सलमान खानलाई अफर गरिएको थियो । सलमानले एन्टि हिरो जस्तो देखिने भूमिका गर्ने कि नगर्ने भनेर लेखक बुबा सलिम खानलाई सोधेका थिए । सलिमले स्क्रिप्ट पढेर त्यसमा आमाको भूमिका थपेमा सलमानले फिल्म गर्दा हुने सुझाव दिएका थिए । सलमानले सोही कुरा निर्देशक अब्बास मस्तानलाई भने । तर, सलमानको सुझाव मान्न दुवै तयार भएनन् । तर पछि उनीहरूले आमाको भूमिका थपेर शाहरुखलाई लिए । अनि यो फिल्मले शाहरुखलाई रातारात स्टार बनायो । 
२.दिलवाले दुल्हनियाँ ले जाएँगे 
‘बाजीगर’ मात्र होइन सलमानले छाडेको अर्को फिल्म गरेर त शाहरुखले करिअरमा बाँकी हिरोलाई कति हो कति पछि धकेले । यो फिल्म थियो हिन्दी सिनेमाकै सबैभन्दा हिट फिल्म ‘ दिलवाले दुल्हनियाँ ले जाएँगे’ । आदित्य चोपडा निर्देशित यो फिल्म पनि सुरुमा सलमानलाई अफर गरिएको थियो । तर, अर्को फिल्मसँग जुधेपछि यो फिल्म सलमानले गरेनन् । गरेनन् मात्र होइन, उनले नै शाहरुखलाई यो फिल्म खेल्न प्रेरित गरेका थिए । सलमानले नभ्याएपछि यो फिल्मको कुरा सैफअलि खान र टम क्रुजसम्म पनि पुगेको थियो । 
३.चक दे इन्डिया 
शाहरुखको जीवनको अर्को सफल फिल्म ‘चक दे इन्डिया’ पनि शाहरुखभन्दा पहिला सलमानलाई नै अफर गरिएको थियो । सलमानले यो फिल्म आफ्नो इमेजभन्दा भिन्न रहेको भन्दै अस्वीकार गरेका थिए । सलमान उसबेला कमेडी विधाका फिल्म गरिरहेका थिए र आफ्ना फ्यान आफूलाई गम्भीर भूमिकामा देख्न तयार नभएको भन्दै यो फिल्म गर्न इन्कार गरेका थिए । पछि यो फिल्म शाहरुखले गरेका थिए । 
४. गजनी 
यो फिल्मको स्क्रिप्ट सबैभन्दा पहिला आमिर खानले पढेका थिए । आमिर खानले स्क्रिप्ट पढपछि निर्मातालाई यो भूमिकाका लागि सलमान खान उपयुक्त हुने सुझाएका थिए । निर्माता पनि आमिरको सल्लाह मानेर सलमानलाई फिल्मको प्रस्ताव लिएर गएका थिए तर खै किन हो ? सलमानले यो फिल्म गर्न मानेनन् । सलमानले नाइँ भनेपछि बल्ल आमिरले यो फिल्मको तयारी सुरु गरेका थिए । 


 


 


Author

थप समाचार
x