कला

आर्थर गन अर्थात् दिवेस पोखरेल फेरि अमेरिकन आइडलमा

इकागज |
बैशाख ४, २०७८ शनिबार १२:२ बजे

अमेरिका : आर्थर गनको नामले चिनिएका दिवेस पोखरेलले फेरि एक पटक अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन् । बिलबोर्डले लेखेको समाचार अनुसार आर्थर गन ‘अमेरिकन आइडल’ को १९ औं संस्करणका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् ।

आर्थर गन अमेरिकन आइडलको १८ औं संस्करणमा रनर अप भएका थिए । अमेरिकन आइडलले कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको कारण देखाउँदै उनीहरूलाई दोस्रो मौका दिने अभिप्रायले गत सिजनका दस जनालाई मौका दिने निर्णय गरेको हो ।


यसमा आर्थर गनसँगै गत संस्करणमा प्रतिस्पर्धा गरेका फेथ बेकनेल, फ्रेंकलिन बून, डिवायने क्रोकर, सिनिया एलिसे, एलिना जेस्टर, लुइस नाइट, निक मेरिको, माकाला फिलिप्स र ओलिभिया सिमाइनेस छनोट भएका छन् । आइडलले राम्रो सम्भावना भएका तर यो बीचमा कुनै रेकर्ड लेबलसँग सम्झौता नगरेका गायकलाई दोस्रो मौका दिने निर्णय गरेको हो । 

आर्थर गनले गत सालको विजेता जस्ट साम बराबर नै चर्चा पाएका थिए तर त्यसका बावजुद उनलाई कुनै पनि रेकर्ड लेबलले नलिएपछि उनले मौका पाएका हुन् । 
यसरी छानिएका १० जनाले अप्रिल १९ मा हुने एपिसोडका लागि प्रतिस्पर्धा गर्नेछन् । र, यो प्रतिस्पर्धाबाट एक जना नयाँ संस्करणको उत्कृष्ट १० भित्र पर्नेछन् ।

एक हप्ताभरि हुने भोटिङबाट जसले धेरै नम्बर पाउँछ उसले नयाँ सिजनका उत्कृष्ट १० सँग प्रतिस्पर्धा गर्न पाउनेछ । मे २३ मा नयाँ संस्करणको विजेता चुनिनेछ । 
अमेरिकन आइडलले गत सालका प्रतिस्पर्धीलाई नयाँ सोमा मौका दिने निर्णयले नयाँ प्रतिस्पर्धीलाई अन्याय हुने टिप्पणी सुनिएको छ ।

अघिल्लो सालका गायकको फ्यानबेस राम्रो भइसकेको र भोलि भोटिङमा जाँदा अघिल्लो सालका प्रतिस्पर्धीले भोट पाउने सम्भावना धेरै भएको भन्दै यो निर्णयको आलोचना भएको छ । तर, यसको असर के हुन्छ भन्ने कुरा चाहिँ शृंखला प्रसारण भएपछि मात्र थाहा हुने धेरैको बुझाइ छ । 

अमेरिकाको कनान्समा बसाइँ सर्नुअघि दिवेशले नेपालमा ‘ग्रहण’ र ‘खोज’ गरी दुई एल्बम सार्वजनिक गरेका छन् । उनले यो बाहेक ‘म’, ‘खोज’ र ‘कर्णाली’ गरी तीन सिंगल पनि सार्वजनिक गरेका छन् । 


Author

थप समाचार
x