कला

माला सिन्हाको जन्मदिन

‘माइतीघर’ले यसरी जुरायो नेपालमा ‘घर’

इकागज |
कात्तिक २६, २०७७ बुधबार १३:१५ बजे

माला सिन्हाको आज जन्मदिन । बलिउडमा सयभन्दा ज्यादा फिल्ममा अभिनय गरेकी माला सन् १९५० देखि ७० सम्म हिन्दी फिल्मका लागि रोज्जा अभिनेत्री थिइन् ।  यहीबीचमा माला सिन्हाले एउटा नेपाली फिल्म खेलिन् । तर, एउटै नेपाली फिल्म उनलाई दर्शकबीच अमर बनाउन पर्याप्त रह्यो । बिसं २०२३ सालमा रिलिज भएको ‘माइतीघर’माला सिन्हा अभिनित एक मात्र नेपाली फिल्म हो ।

माला सिन्हा नेपाली आमा र बंगाली बाबुको छोरी थिइन् । कलकत्ताको क्रिश्चियन परिवारमा हुर्किएकी मालाले बाल कलाकारको रुपमा हिन्दी फिल्ममा अभिनय थालेकी थिइन् । तर, सन् १९९७ मा रिलिज भएको ‘प्यासा’ उनलाई अभिनयमा दह्रो खुट्टा टेकाउने फिल्म थियो । त्यसपछिका धेरै वर्ष मालाले एकसेएक हिन्दी फिल्ममा अभिनय गरिन् । 


नेपाल उनको मावली घर थियो । यति नाताले उनलाई ‘माइतीघर’ खेल्न प्रेरित गरेको थियो । तर, ‘माइतीघर’ खेलिरहँदा उनको यतै ‘घर’ बस्ने चाँजोपाँजो पनि मिल्यो । ‘माइतीघर’ फिल्मका को-स्टार चिदम्बरप्रसाद लोहनी (सीपी लोहनी)सँग सुटिङको क्रममा नै माया बसेपछि मालाले कालान्तरमा उनैसँग विवाह गरिन् । कस्टम अफिसमा काम गर्ने चिदम्बरले माला सिन्हासँग लभ गर्ने कल्पना पनि गरेका थिएनन् । तर, सुटिङ सकेको केही महिनापछि उनले मालाको चिठ्ठी पाए । जहाँ मालाले आफू उनको प्रेममा हुरुक्क भएको बेहोरा वर्णन गरेकी थिइन् ।

तीन वर्षअघि आर्मी अफिसर्स क्लबमा सम्पन्न एलजी सिने सर्कल अवार्डमा सहभागी हुँदै माला सिन्हा दम्पती । 

केही वर्ष काठमाडौं, मुम्बई गरेपछि उनीहरूले विवाह गरे । मालाले सिपीसँग विवाह गर्नमा परिवारको पनि हात रहेको अन्तर्वार्ताहरूमा उल्लेख गरेकी छिन् ।  ‘म २६ वर्षको हुँदा नै बुबाआमाले मेरो विवाह गरिदिन खोज्नु भएको थियो । बाबालाई फिल्म उद्योगका केटाहरूमा विश्वास थिएन । एउटै पेसाको भएपछि इगो प्रब्लम पनि हुन्छ भन्ठान्नु हुन्थ्यो । बाबा मेरा लागि पहाडी केटा चाहानुहुन्थ्यो । त्यही कारण सिपीलाई मन पराउनु भयो ।'

तर, सिपीले मालासँग विवाह गर्नुअघि विवाह पछि उनले फिल्म उद्योग छाड्नु पर्ने सर्त राखेका थिए । मालाले त्यो सर्त मानेकी पनि थिइन् । तर, विवाहपछि पनि मालालाई राम्रा फिल्मका अफर आउन कम भएन । सिपीलाई फिल्मप्रति मालाको लगाव थाहा थियो । उनले मालालाई रोकेनन् । विवाहपछि पनि मालाले थुप्रै फिल्ममा अभिनय गरिन् ।

यता सिपी भने काठमाडौंमै बसेर व्यापार गर्थे । तर, टाढा हुँदा आफूहरूको सम्बन्ध झन् बलियो भएको उनले भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा बताएकी छिन् । उनले आजभोलि पनि  मुम्बई र काठमाडौं बरोबर आइजाइ गरिरहने बताएकी छिन् । राजा ज्ञानेन्द्रको शासनकालमा भएको चलचित्र समारोहमा चलचित्र विकास बोर्डले उनलाई नेपाली फिल्ममा गरेको योगदानको स्मरण गर्दै सम्मान गरेको थियो । तीन वर्ष भएको एलजीसर्कल सिने अवार्डमा भने माला सिन्हा र सिपी लोहनी दुवैले उपस्थिति जनाएका थिए । यो बेला उनलाई किन दोहोर्‍याएर फिल्म नखेल्नु भएको भन्दा उनले आफूलाई कसैले नेपाली फिल्म अफर नै नगरेको जवाफ दिएकी थिइन् ।


Author

थप समाचार
x