कला

सवारी साधनकाे नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गर्न प्रधानमन्त्रीलाई प्रज्ञा प्रतिष्ठानको अनुरोध

इकागज |
बैशाख ४, २०७८ शनिबार १७:४४ बजे

तस्बिर : नेपाल प्रज्ञा प्रतिष्ठानकाे अफिसियल फेसबुक पेजबाट

काठमाडौँ : ‘ इम्बोस्ड भेहिकल नम्बर प्लेट’मा देवनागरी लिपिको प्रयोग गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीलाई पुनः अनुरोध गरेको छ । प्रतिष्ठानको गत चैत्र २७ गते बसेको प्राज्ञ परिषद्को बैठकले गरेको निर्णयानुसार प्रधानमन्त्रीलाई शुक्रबार पुनः स्मरण पत्र पठाएको हो ।

‘हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेट’मा देवनागरी लिपि प्रयोग नगर्दा देवनागरी लिपि र नेपाली भाषाको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा हुने भन्दै प्रधानमन्त्रीलाई पूर्व निर्देशनबमोजिम नै हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएको प्रतिष्ठानले जनाएको छ । 


नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नं प्लेट राख्‍न सुरू गरिएको थियो । सो विरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको माग गरी रिट निवेदन दर्ता भएको थियो ।

अदालतले २०७६ मङ्सिर २७ गते अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतको पाँच सदस्यीय इजलासले रिट निवेदन जारी नहुने भन्दै अन्तरिम आदेशसमेत खारेज गरेको थियाे ।

उक्त विषयलाई आधार बनाएर नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयानुसार यातायात व्यवस्था विभागबाट सरकारी, संस्थानका र निजी स्वामित्वका सवारी साधनहरूमा गत साउन एक गतेदेखि हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न सम्बन्धित सबैलाई जानकारी गराउने उद्देश्यले सूचना जारी गरिएको थियाे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउन १९ गते उक्त प्लेट जडान गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानलाई समेत पत्र पठाएकाे थियाे । 

प्रतिष्ठानले गत भदौ ३ नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रधानमन्त्रीलाई आठ बुँदे आधारहरूसहित आफ्नो राय पठाएको थियो । उक्त रायमाथि प्रधानमन्त्रीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई  इम्बोस्ड भेहिकल नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गर्न निर्देशन दिएका थिए ।

कोभिड –१९ का कारण तत्काल बजेट अभाव भए पनि आगामी दिनमा सो कार्यक्रममा आवश्यक बजेट उपलब्ध हुने प्रधानमन्त्री ओलीले आश्वासन दिएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत सोहीबमोजिम प्रक्रिया अगाडि बढाएको भनी जानकारी दिएका थिए ।

तर मन्त्रालयले अगाडि बढाएको भनिएको प्रक्रिया विपरीत गत प्रतिष्ठानलाई मंसीर २६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको को यातायात व्यवस्था शाखाले र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा’ विषय रहेको पत्र पठायो ।  

उक्त पत्रको कार्यान्वयन गर्दा देवनागरी लिपि र नेपाली भाषाको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा हुने भन्दै प्रतिष्ठानले प्रधानमन्त्रीलाई ‘हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेट’मा देवनागरी लिपिको प्रयोग गर्ने व्यवस्था मिलाउन पुनः आग्रह गरेका हो । 

प्रतिष्ठानले ‘हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेट’मा देवनागरी लिपिको प्रयोग गर्नुपर्ने आधारहरू निम्नानुसार छन् ः 
१. नेपालको संविधानको धारा ७ को उपधारा (१) मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने छ भनी प्रस्ट उल्लेख गरिएको ।

२. हालसम्म नेपालमा कूटनीतिक नियोगका सवारी साधनबाहेक सरकारी, संस्थानका, सार्वजनिक र निजी सवारी साधनहरूमा राखिने नम्बर प्लेट देवनागरी लिपिमा नै लेखाएर राख्‍ने गरिएको ।

३. धेरै प्रयत्नका बावजुद देवनागरी लिपिमा साक्षरता प्रतिशत बढिरहेको नेपालमा कतिपय सहरी र ग्रामीण क्षेत्रमा समेत अङ्ग्रेजी भाषिक साक्षरताको प्रतिशत अत्यन्त न्यून रहेको अवस्थामा सवारी साधनहरूमा राखिने इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग नगरी अङ्ग्रेजी रोमन लिपिको मात्र प्रयोग गर्दा सर्वसाधारण नागरिकहरूलाई नम्बर प्लेटको अङ्क र अक्षर पढ्न र बुझ्‍न कठिन हुन जाने, दुर्घटना हुँदा दुर्घटना गराउने सम्बद्ध चालक र सवारी साधनले सहजै उन्मुक्ति पाउन सक्ने र पीडित नागरिकहरूले सहजै न्याय नपाउने सम्भावना बढी हुने ।

४. सवारी साधनहरूमा नम्बर प्लेट देवनागरी लिपिको नेपाली भाषामा राखेर काम चलिरहेको अवस्थामा उक्त व्यवस्थालाई फेरेर रोमन लिपिको अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर राख्न लगाउने व्यवस्थाबाट राज्यलाई अनावश्यक आर्थिक भार थपिने । 

५. सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठित वर्तमान सरकारले राष्ट्रमा राष्ट्रिय गौरवका महत्वपूर्ण भौतिक निर्माणका आयोजना सञ्चालन गर्नुका साथै राष्ट्रको भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमिकता र सांस्कृतिक पुनर्जागरणका माध्यमबाट राष्ट्रिय नेपाल प्रज्ञा–प्रतिष्ठानले रोमन लिपिको अङ्ग्रेजी भाषाको प्रयोग गर्ने ।

७. देवनागरी लिपिको नेपाली भाषामा र रोमन लिपिको अङ्ग्रेजी भाषामा समेत इम्बोस्ड नम्बर प्लेट बनाउन मिल्ने किसिमले प्रविधिको विकास गर्नुपर्ने । मानवसमाजलाई प्रविधिमैत्री बनाउनुका साथै प्रविधिलाई समेत मानवमैत्री हुने गरी निर्माण गर्न लगाउनुपर्ने । 

८. संसारका धेरैजसो मुलुकमा सवारी साधनका नम्बर प्लेटमा प्रयोग गरिने भाषिक लिपिमध्ये सुरुमा आफ्नो राष्ट्रको कामकाजको भाषा र त्यसपछि अन्तर्राष्ट्रिय भाषाको प्रयोग गर्ने प्रचलन रहेको । 

उल्लिखित रायका आधारमा  भेहिकल नम्बर प्लेटमा देवनागरी नम्बरको प्रयोग गर्न आवश्यक निर्णय र व्यवस्था गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले अनुरोध गरेका छन् । 


Author

थप समाचार
x