कला

हामीले अस्करमा सर्ट फिल्म कसरी पठाउने ?

इकागज | सामीप्यराज तिमल्सेना |
बैशाख ५, २०७८ आइतवार १२:८ बजे

अबको ठीक एक सातापछि अस्कर अवार्डको ९३ औं संस्करण आयोजना हुँदैछ । अस्कर अवार्डको संरचनाले फिचर फिल्मलाई बढ्ता ठाउँ दिएको छ र जिते पनि वा हारे पनि यही विधाका फिल्मको चर्चा हुन्छ । तर, २३ विधामा बाँडिने अवार्डमा फिचरबाहेक डकुमेन्ट्री र सर्ट फिल्मले पनि अस्कर पाउँछन् । तर, धेरैलाई फिचर फिल्म झैं सर्ट फिल्म अस्करसम्म कसरी पु¥याउने ? बाटो थाहा छैन । 

नेपालमा बनेका लघु फिल्म कान्स, भेनिस, टोरन्टो, बुसान आदि फेस्टिभलमा जान थालेका छन् । जस्तो कि मिन भामको ‘बाँसुल्ली’ भेनिसमा प्रतिस्पर्धी थियो । दीपक रौनियार निर्देशित ‘चौकठ’ कान्ससम्म पुगेको थियो । तर, अस्करसम्म जाने बाटो थाहा नहुँदा नेपाली फिल्मले त्यता आफ्नो उपस्थिति देखाउन सकेको छैन । तल हामीले सम्भावित बाटाको बारेमा चर्चा गरेका छौं । 


संसारभरका फिल्ममेकरलाई अस्कर अवार्डमा समावेश गर्ने मनसायले एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइन्सेजले अवार्डले विश्वका धेरै देशमा अन्तर्राष्ट्रिय फिचर फिल्म कमिटी निर्माणका लागि अनुमति दिएको छ । हरेक देशले यो कमिटीमार्फत् फिल्म छनोट गरेर अस्करमा फिल्म पठाउँछन् ।

नेपालमा पनि यो कमिटी छ र यसले हरेक वर्ष नेपाली फिल्ममेकरसँग फिल्म मागेर प्रतिस्पर्धाका लागि पठाउँछ । ‘क्याराभान’लाई छाडेर कुनै पनि नेपाली फिल्मले अस्करको अन्तिम सूचीमा स्थान बनाउन सकेका छैनन् ।

तर, कुनै न कुनै दिन नेपालले पनि दक्षिण कोरियाको जस्तो अस्कर देशमा भित्र्याउँछ भन्ने अपेक्षासहित फिल्म पठाउने क्रम जारी छ । फिचर फिल्मसँगै सर्ट फिल्म र एनिमेटेड विधामा पनि अस्कर अवार्ड बाँड्ने चलन छ । तर, सर्ट फिल्म कसरी अस्करसम्म पु¥याउने धेरैले खोजिरहेको उत्तर हो ।

अस्करको नियम अनुसार सर्ट फिल्म अस्करसम्म पु¥याउने तीन बाटो छन् । सबैभन्दा पहिलो उपाय हो, स्टुडेन्ट एकेडेमी अवार्डमा स्टुडेन्ट अवार्ड जित्ने, दोस्रो उपाय हो लसएञ्जल्समा हप्ता दिनसम्म फिल्मको स्क्रिनिङ गर्ने र तेस्रो तथा अन्तिम उपाय हो अस्करले पत्याएका ८३ वटा फिल्म फेस्टिभलमध्ये कुनै एकमा उत्कृष्ट फिल्मको अवार्ड जित्ने । 

स्टुडेन्ट एकेडेमी अवार्ड अन्तर्राष्ट्रिय विद्यार्थीको फिल्म कम्पिटिसन हो । हरेक साल फिल्म कलेज तथा युनिभर्सिटी पढ्ने विद्यार्थीले नगद तथा अवार्डका लागि प्रतिस्पर्धा गर्छन् र यहाँको प्रतिस्पर्धामा विजेता हुने फिल्म सिधै अस्करको सर्ट, एनिमेसन,डकुमेन्ट्री, आदि विधामा छनोट हुन्छन् । यहाँ  अवार्ड जितेका फिल्ममेकरले ११ पटक अस्कर जितिसकेका छन् । 

यदि तपाईंको फिल्म स्टुडेन्ट एकेडेमी अवार्डमा छानिएन भने तपाईंसँग दोस्रो फिल्म बाँकी रहन्छ लसएन्जल्समा हप्ताभरका लागि हल भाडा लिने र फिल्म प्रदर्शन गर्ने । यसका लागि गुगल सर्च गर्दा तपाईंले सस्तोमा यस्ता हल भेटिनुहुन्छ जसले थोरै पैसामा पनि तपाईंलाई हल उपलब्ध गराउँछन् । यसरी फिल्म स्क्रिनिङ गर्दा सर्वसाधारणले टिकट काटेर फिल्म हेर्नु पर्नेछ भने तपाईंको सर्ट फिल्म कम्तीमा तीन दिनसम्म दिनको दुई सोको दरले चलाउनु पर्नेछ । 

अन्तिम  तर भरपर्दो विकल्प हो एकेडेमी अवार्डले मान्यता दिएका विश्वभरका फिल्म फेस्टिभलमा फिल्म पठाउने र त्यहाँ सर्ट फिल्मको विधामा उत्कृष्ट फिल्मको पुरस्कार जित्ने । एकेडेमीले संसारभरका ८३ वटा फिल्म फेस्टिभललाई मान्यता दिएको छ । यहाँ प्रतिस्पर्धामा छानिएर विजेता बन्ने फिल्मले सिधै अस्करको सर्ट फिल्मको विधामा मनोनयन पाउनेछन् । 

सर्ट फिल्म फिल्म सिक्ने सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ । ठूलो बजेटको फिचर फिल्ममा एकैचाटी हाल्फाल्दा अनुभव नपुगेर फिल्म दुर्घटनामा पर्ने सम्भावना हुन्छ । त्यही कारण पनि भविष्यमा फिल्म बनाउन चाहाने फिल्मकर्मीले सर्ट फिल्मबाट फिल्म बनाउने सुरुवात गर्नु उत्तम सिकाइ मानिन्छ ।

नेपालमा बजेटको उपलब्धता र अनुभवको उपयोगिताका हिसाबले पनि सर्ट फिल्म बनाउने नयाँ पुस्ता हुर्कंदो छ । यसरी बनाएका फिल्मले विश्वका फिल्म फेस्टिभलमा छनोट भएर पुरस्कार पनि जित्दै आएका छन् । 
 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x