कला

किपालयले प्लानसँग मिलेर १० महिलालाई डकुमेन्ट्री बनाउन सिकाउने

इकागज |
बैशाख ५, २०७८ आइतबार १३:४८ बजे

काठमाडौं :  किपालय प्रडक्सनले प्लान इन्टरनेसनलसँग मिलेर १० जना महिलालाई डकुमेन्ट्री फिल्म मेकिङको ज्ञान दिने भएको छ । प्लानको विश्वव्यापी अभियान ‘गल्स गेट इक्वेल रिप्रजेन्टेसन’ अन्तर्गत महिला लक्षित डकुमेन्ट्री कार्यशाला हुन लागेको हो । 

नेपाली फिल्महरूमा महिलाको चरित्र चित्रण अस्वभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको छ । महिला सम्बन्धि थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र फिल्म निर्माणमा महिलाको संख्या बढाउने उद्देश्यले कार्यशाला गर्न लागेको आयोजकले जनाएको छ ।


किपालयकी प्रोजेक्ट हेड आश्मा पोखरेलले कार्यशालाका लागि देशभरबाट आवेदन मागिने र यसरी आएका आवेदनबाट १० जनालाई छनोट गरिने जानकारी गराएकी छिन् । 

‘महिला फिल्ममेकरलाई फिल्म निर्माणमा आधारभूत ज्ञान दिने उद्देश्यले यो कार्यशाला गर्न लागेका हौं । यसमा फिल्म निर्माणमा रुचि हुने देशभरका महिला फिल्मकर्मीले सहभागिताका लागि आवेदन दिन सक्नुहुनेछ,’ आश्माले भनिन् । 

आश्माका अनुसार कार्यशालाको समयावधि १ महिनाको रहनेछ भने कार्यशाला काठमाडौ र चित्लाङ गरी दुई ठाउँमा सम्पन्न हुनेछ । उनले कार्यशालामा फिल्म निर्माणको धेरथोर अनुभव भएका महिलालाई प्राथमिकता दिने जानकारी गराइन् । 

 किपालयका प्रबन्ध निर्देशक नवविजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिको प्रयोग गरी कार्यशाला सञ्चालन गर्ने जनाए । ‘छानिएका १० जनालाई हामीले पहिलो चरणमा काठमाडौंमै फिल्ममेकिङका आधारभूत ज्ञान दिन्छौं र दोस्रो चरणमा मकवानपुरको चित्लाङमा साँच्चिकै फिल्म कसरी बनाउने भन्ने बारेमा सिकाउँछौं,’ नवले भने । 

कार्यशालामा १८ देखि २४ वर्ष भित्रका महिलाले आवेदन दिन सक्नेछन् भने  इच्छुक फिल्मकर्मीले यही अप्रिल २३ अर्थात् आउँदो शुक्रबारसम्ममा निवेदन सक्नेछन् । 
कार्यक्रममा आवेदनका लागि कुनै शुल्क नतोकिएको किपालय प्रडक्सनले जनाएको छ । योसँगै कार्यक्रममा छनोट हुने १० जना फिल्ममेकरले पनि कुनै पनि चरणमा पैसा तिर्नु पर्नेछैन । कार्यशालासँगै खाने, बस्ने र सुटिङसम्मको सुविधा पनि आयोजक स्वंयले बेहोर्ने जनाएको छ । 


Author

थप समाचार
x