कला

मदन चित्रकारको ‘थट्स अफ म्युजिङस्’ को लोकार्पण

इकागज |
बैशाख ५, २०७८ आइतवार १६:५५ बजे

काठमाडौँ : कलाकार तथा कलालेखक मदन चित्रकारको पुस्तक ‘थट्स अफ म्युजिङस्’को लोकार्पण भएको छ । लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्टसमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुस्तकको लोकार्पण गरेका हुन् । 

लोकार्पणपछि बोल्दै प्रमुख शाक्यले कला र संस्कृतिको माध्यमबाट समाजलाई जीवन्त बनाउनुपर्ने धारणा राखे । उनले भने, ‘पूर्खाले दिएको संस्कृतिलाई जर्गेना गर्दै हामीले पनि अहिलेको परिवेशलाई कला र संस्कृतिमा उतार्नुपर्ने चुनौती रहेको छ ।’


पुस्तकमाथि टिप्पणी गर्दै सिद्धार्थ आर्ट ग्यालरीका सञ्चालक संगीता थापाले नेपाली कलाका विविध आयामलाई पुस्तकमा खोतल्ने प्रयास भएको बताइन् । राणाकालमा नेपालमा ३८ वटा दरबार बनेको र ती दरबारमा बनाएका पेन्टिङका बारेमा खोज अनुसन्धान हुनुपर्ने विचार उनले व्यक्त गरिन् । उनले भनिन्, ‘नेपाली कला बुझ्‍न चाहने सबैलाई यो पुस्तक एउटा गाइडलाइन हुन सक्छ ।’  

 

त्यस्तै, पुनम आरएल राणाका अनुसार पुस्तकमा नेपाली कला र कलाकारका बारेमा मात्रै नभई कलाको विकासक्रमसमेत छ ।  पुस्तकका लेखक एवं कलाकार मदन चित्रकारले नेपालमा ललितकला वाङ्मयको अभाव रहेको बताए । उनले थोरै भए पनि नेपाली कला वाङ्मयलाई समृद्ध बनाउने ध्येय राखेर पुस्तक प्रकाशित गरेको सुनाए । 

सिर्जना कलेज अफ फाइन आर्टस्का अध्यक्ष महेन मोहन श्रेष्ठले नेपाली कलालाई समृद्ध बनाउने उद्देश्य राखेर पुस्तक प्रकाशन गरेको बताए । उनले आगामी दिनमा समेत कलेजले कलाका विभिन्न विषयमा कृति प्रकाशन गर्दै जाने विचार व्यक्त गरे ।

अंग्रेजी भाषामा लेखिएको यस पुस्तकले नेपाली कलामा चलेका विविध शैली, आन्दोलन, विचार, परम्परा, कलाकार तथा तिनका कलाकृतिलाई बुझ्न सघाउँछ । पुस्तकमा नयाँ तथा पुराना पुस्ताका कलाकारका कलाकृति तथा तिनका बारेमा चर्चा समेत गरिएको छ । 


Author

थप समाचार
x